
काठमाडौं भादौ १७ । नेपाललाई बंगलादेशले ५० हजार मेट्रिक टन रासायनिक मल पैंचो दिन सहमति जनाएको छ । दुई देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्ता पछि बंगलादेशले नेपाललाई रासायनिक मल पैंचो दिने भएको सहमति जनाएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सुरुमा भारतसँग नै मल माग्न खोजेको थियो। तर भारतीय पक्षले यसवर्ष आफूसँग मागभन्दा २० लाख मेट्रिक टन मल मौज्दात कम रहेको जानकारी नेपाललाई गरायो।
त्यसपछि नेपालसँग ठेक्का लगाएर मल किन्ने कि सरकार-सरकार (जिटुजी) सम्झौता गरेर मल ल्याउने दुईवटा विकल्प थियो ।
कृषि विकासमन्त्री घनश्याम भुसालका अनुसार, कृषि मन्त्रालयले ठेक्का लिएका ठेकेदारले धोका दिएको र जिटुजी गर्दा विवादमा पर्ने डरले पैँचो माग्ने तेस्रो विकल्प रोज्यो । तत्काल बंगलादेशसँग मल माग्ने र खरिद गर्ने मल उता पठाउने गरी दुई देशबीच सहमति भएको छ । त्यसअनुसार बंगलादेशबाट केही दिनमा नेपाल मल आइपुग्नेछ ।
