प्रेस काउन्सिलका किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Avatar photo
Dhadingpost
भदौ ३, २०७७

काठमाडौ भाद्र ३ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिदैँ बुधबार सरकारलाई नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न भनेको छ ।

सरकारले अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्त गर्दै भदौ १ गते राती कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै उक्त पदमा दुर्गा भण्डारी पौडेललाई चयन गरेको थियो ।

सर्वोच्चले दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘विवादित नियम ३ क को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदन प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्न सक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखियो, तसर्थ उक्त संशोधित (थप गरिएको) नियम ३ क हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नु नगराउनु, निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।