धादिङको अधिकाँश बस्ती जोखिममा छन्, स्थानान्तरण गर्न राज्य गम्भिर बन्नुपर्छ –गुरु बुर्लाकोटी

Avatar photo
Dhadingpost
भदौ २, २०७७

धादिङ भाद्र २ । उत्तरी धादिङको गाउँ–गाउँ टोल–टोल र सबै बस्तीमा पुगेको छु । ०७२ सालको भूकम्प पछि उत्तरी धादिङका अधिकाँश बस्तीहरु उच्च जोखिममा छन् त्यसमा पनि अहिले पहिरोको जोखिम थपिएको छ ।

सरकारले रुबीभ्यालीमा राहातको प्याकेज मात्र हैन, अधिकाँश बस्तीहरू तत्काल स्थानान्तरणको योजना ल्याउन पर्ने संविधानसभाका सदस्य एवम् नेकपा नेता गुरु बुर्लाकोटी बताउनु हुन्छ ।

०७२ सालको भुकम्पले चिरा चिरा परेको रुबीभ्यालीका कयौं बस्तीहरु त्यहिबेला देखि सरकारको नोटिस मै रेड जोनमा छन् । मैले संविधान सभा र संसदको बैठकमा कयौं पटक उक्त बस्तीका मानिसहरूलाई निश्चित खेती योग्य जमिन सहित स्थानान्तरण गर्नुपर्ने माग राखेको थिएँ । तर सरकारले प्रभावकारी ढंगले स्थानान्तरणको प्याकेज नल्याएको बुर्लाकोटीले धादिङपोष्ट सँग बताउनु भयो ।

अहिले रूविभ्याली गाउॅपालिकाको हिन्दुङ ,कपुरगाउँ, लाब्दुङ, नेवेर, तिर, तयुङ, भ्रन्ताङ, पुरू, माचेत, सिदाचेत लगायतका गाउॅहरू पहिरोको उच्च जोखिममा छन् ।

नेता बुर्लाकोटी सरकारलाई सुझाव दिँदै भन्नु हुन्छ २०७२ सालको भूकम्पमा थिलथिलो भएको गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, ओखलढुंगा र
सिंन्धुली लगायतका १४ अत्यन्त प्रभावित जिल्लाका जोखिम युक्त वस्तीहरूलाई निकुन्ज बनाउन सकिन्छ ।

उक्त स्थानका मानिसहरूलाई सकिन्छ भने जिल्ला भित्रै कतै व्यवस्थान गरौं, सकिँदैन भने तराईका बुढा रुख कटान गरेर भए पनि उत्तरी क्षेत्रका जोखिममा रहेका बस्तीहरू तराईमा स्थानान्तरण गरौं र यता जोखिमका ठाउॅहरूलाई निकुन्ज बनाऔं ।

निकुञ्ज बनाउँदा पर्यटकिय रुपमा हिमाली क्षेत्र, जडीबुटी, शिकार आरक्षण तथा अवलोकनको लागि लाखौं पयर्टक ल्याउन सकिन्छ भने, उच्च जोखिममा परेका मानिसहरू पनि आनन्दका साथ जिवन यापन गर्न सक्छन् ।

यसतर्फ सरकारको ध्यान जान सकेन भने प्रत्येक वर्ष सरकार उल्लेखित बस्तीहरूमा राहत सामग्री लिएर जानुको कुनै विकल्प छैन । त्यसैले तीनै तहको सरकार यसतर्फ अहिल्यै गम्भिर बन्नु पर्छ ।

(नेता गुरु वुर्लाकोटी सँगको कुराकानीमा आधारित)

x