
धादिङ साउन ३० । धादिङ उत्तरी क्षेत्रको रुबिभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा ठुलो पहिरो जाँदा २०० भन्दा बढी घरहरु जोखिममा परेका छन् ।
बिहिबार राती परेको अविरल वर्षाको कारण हिन्दुङ गाउँ भन्दा तल पहिरो जाँदा पुरै बस्ती जोखिममा परेको स्थानीय दिनेश तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
नेकपा पार्टी रुबिभ्याली वडा नं ४ का स्थानीय गाउँकमिटी सचिव समेत रहेको दिनेश तामाङका अनुसार २ सय भन्दा बढी घरहरु जोखिममा छन् । यो बस्ती भुकम्पको कारण अति संवेदनशिल स्थलको रुपमा सूचिकृत बस्ती हो ।
भुकम्पले थिलथिलो बनाएको यस बस्तीलाई अन्यत्र सार्नु पर्ने सूचिकरणमा उल्लेख गरिए पनि उनीहरुलाई स्थानतरण गरिएको छैन ।
हिन्दुङ गाउँको दुबै तर्फका खोलाहरु बढेका छन्, तल पहिरो गएको छ, उद्दारको लागि कहि कतैबाट पहल भएको छैन । अब बस्ती मात्र हैन उक्त बस्तीमा रहेका मानिसहरु समेत जोखिममा परेकोले उद्दारको लागि स्थानीयहरुले आव्हान गरेका छन् तामाङले बताउनु भयो । धादिङपोष्टका लागि तस्बीरः दिनेश तामाङ

