
काठमाडौं साउन ३० । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा गएको पहिरोमा परेर ३६ जना बेपत्ता भएका छन् । पहिरोमा बेपत्ता भएका कसैको पनि अहिलेसम्म उद्धार गर्न सकिएको छैन भने ५ जना गम्भीर घाइतेहरुलाई सदरमुकाम चौतारा लगिएको प्रहरीले जनाएको छ ।
उद्धार जारी भए पनि गाउँमाथिबाट खसिरहेको सुख्खा पहिरोले समस्या पारेको जनाइएको छ । पहिरोले लामा गाउँका ५ घर पुरिँदा सबै घरका सदस्यहरु बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन् ।
नेपाली सेनाले घटनास्थल पुगेर उद्धार थालेको छ । पहिलो चरणमा २ महिला र २ पुरुषलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याइएको छ ।
