बागमती प्रदेशको १० जिल्ला छुने गरि पुष्पलाल प्रदेश चक्रपथ निर्माण गरिने

Avatar photo
Dhadingpost
साउन २३, २०७७

धादिङ साउन २३ । बागमती प्रदेशका १० वटा जिल्लालाई छुने गरि कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल प्रदेश चक्रपथ निर्माण गरिने भएको छ ।

पुष्पलाल प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन निर्माण लगायत कामको तयारी थालिए भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
“प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रलाई कुनै न कुनै हिसाबले समेट्ने गरी विशाल चक्रपथ निर्माणको काम आगामी आर्थिक वर्षदेखि गतिवान ढङ्गले शुरु गर्छौँ”, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फ्युयालले बताउनु भयो ।

मन्त्री फुँयालका अनुसार मन्त्रलयले यसै वर्षको असार मसान्तभित्र वाग्मती प्रदेश यातायात गुरुयोजना तयार गर्ने काम सम्पन्न गर्ने, प्रदेश लोकमार्ग, प्रदेश मार्ग तथा शहरी सडकको समेत निर्माण प्रारम्भ हुनेछ ।

फुँयालले हेटौँडादेखि काठमाडौँसम्म जोड्ने मदन भण्डारीमार्गअन्तर्गत भैँसे–भीमफेदी र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक दुई लेनमा स्तरोन्नति गर्ने कार्य भइरहेको र चाँडै नै कालोपत्रको काम पनि शुरु हुने बताउनुभयो ।

पुष्पलाल प्रदेश चक्रपथ रामेछापबाट–दोलखा–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली हुँदै पुनः रामेछाप जोडिने बताइएको छ ।