सिद्धलेक गाउँपालिकाको लापर्वाहीः कुम्पुर स्वास्थ्य चौकी बन्द, इन्चार्ज अन्सारी अन्यायमा

Avatar photo
Dhadingpost
साउन २, २०७७

धादिङ साउन २ । धादिङको सिद्धलेक गाउँपालिकाको लापर्वाहीका कारण कर्मचारी नहुँदा कुम्पुर स्थित स्वास्थ्य चौकी बन्द भएको छ ।

५ जना कर्मचारी रहेको कुम्पुर स्वास्थ्य चौकीमा सिद्धलेक गाउँपालिकाको लापर्वाहीका कारण कर्मचारी नै नभएपछि स्वास्थ्य चौकी बन्द भएको स्थानीयहरुले बताएका छन् ।

स्वास्थ्य चौकीका इन्चार्ज रकिम अन्सारीलाई ६ महिनाको तलव नदिई निकालिएको अवस्था छ । स्वास्थ्यकर्मीहरु कृष्णमायाँ विक कोरोना काजमा काठमाडौं गएको, तुलसी महतो खुट्टा भाँचिएर चितवनमा उपचारत छन् भने कर्मचारीहरु सुनिता फुयाँल र तुलबहादुर घलेको करार अवधी सकिए पछि कर्मचारी नहुँदा कुम्पुर स्वास्थ्य चौकी बन्द भएको हो ।

गाउँपालिकाले स्वास्थ्य चौकी इन्चार्ज एवम् अहेब अन्सारीलाई आर्थिक अनियमितताको आरोप लगाउँदै नलाङ स्थित स्वास्थ्य चौकीमा सरुवा गरेको थियो । तर, अन्सारीले आफूले आर्थिक अनियमितता गरेको भए प्रमाणसहित अख्तियारद्वारा कारबाही हुनुपर्ने माग राख्दै आएका छन् ।

सरुवा गरेको स्थानमा नगएको भन्दै गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै अन्सारीलाई फिर्ता पठाए पनि स्वास्थ्य मन्त्रालयले गाउँपालिकाले पठाएको पत्र अस्विकार गर्दै अन्सारीलाई पुन: सिद्धलेकमै पदस्थापना गर्न पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयको पत्र बोकेरी अन्सारी पटक पटक गाउँपालिका पुगे तर उक्त पत्र गाउँपालिकाले बुझ्न नमानेको उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको पत्र सहित गाउँपालिका पुगेका अन्सारीलाई प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले पदस्थापना नगरिदिएपछि कुम्पुरका १० हजारभन्दा बढी जना स्वास्थ्यलाभबाट बञ्चित भएका छन् । स्वास्थ्य चौकीका इन्चार्ज अन्सारीलाई गाउँपालिकाले हाजिर हुन दिएको छैन ।

कुम्पुर स्वास्थ्य चौकीमा विगत २५ वर्ष देखि कार्यरत अन्सारीले कुनै वेमानी नगरेको र उनलाई गाउँपालिकाले नियोजित रुपमा हटाएर कार्वाही गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।