आजै च्याम्पियन बन्ने अवसर रियल म्याड्रिडलाई

Avatar photo
Dhadingpost
साउन १, २०७७

काठमाडौं साउन १ । ला लिगा फुटबल प्रतियोगिताको आज राति हुने खेल जितेमा रियल म्याड्रिड च्याम्पियन बन्ने सुनौलो अवसर छ । बिहिबार हुने ३७ औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदा रियलले आफ्नो खेल जितेमा ला लिगा फुटबल च्याम्पियन बन्ने छ ।

उपाधि, शीर्ष चार र रेलिगेसन जोनमा रहेका टोलीको खेल फरक समयमा हुँदा नतिजा प्रभावित हुन सक्ने भएका कारण अन्तिम दुई चरणको खेल एकै समयमा हुने गर्दछ । शीर्षस्थानको रियल म्याड्रिड, उपाधि दौडमै रहेको बार्सिलोनादेखि रेलिगेसनमा परिसकेको टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ ।

रियलले घरेलु मैदानमा भिल्लारियल सँग अल्फ्रेडो डि स्टेफानोमा नेपाली समय अनुसार राति १२ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । रियल घरेलु मैदानमा भिल्लारियललाई पराजित गर्दै एक खेल अगावै यो सिजनको ला लिगाको उपाधि जित्ने दाउमा हुनेछ ।

जितले रियल एक खेल बाँकी छदै ला लिगाको च्याम्पियन बन्नेछ । बराबरी या हारले भने बार्सिलोनाको नतिजा र रियलकै अन्तिम खेलको नतिजा नै कुर्नुपर्ने हुन्छ । सोही दिन नै बार्सिलोना ओसासुनासँग पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ । रियल र बार्सिलोना दुवै टोली आज रातिको खेलमा बराबरी या पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ । एजेन्सी