
लोकप्रिय नेता तथा तत्कालीन नेकपा (माओवादी) का उपक्षेत्रीय ब्युरो सदस्य, अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा संयुक्त क्रान्तिकारी जनपरिषद्का उपक्षेत्रीय ब्युरो सदस्य क. भरत प्रसाद ढुङ्गाना (जङ्गवीर) लाई २०६१ आषाढ ३१ गते शाही सेनाले यातना पश्चात् अत्यन्तै अमानवीय ढङ्गबाट हत्या गरेको थियो ।
२०४३ सालपछि विपक्षी दलहरु बिशेषगरी तत्कालीन नेकपा (माले)ले आफ्नो कार्यनीति बदल्दै पञ्चायती चुनावलाई उपयोग गर्ने नीति लियो । उनीहरु यो वा त्यो नाममा पञ्चायतमा प्रवेश गरेर भित्रभित्रै लोकतन्त्रको पक्षमा आवाज बुलन्द गर्न चाहन्थे । राजावादी पञ्चहरुमा समेत ठुल्ठुला गुटबन्दी थियो । उनीहरुको अन्तरसङघर्ष एक अर्कोलाई निषेध गर्नेसम्मको हुन्थ्यो । त्यसबाट विपक्षी दलहरु भने केही लाभान्वित भएका थिए । अन्तर्राष्ट्रिय समुदायमा पनि पञ्चायतको एकदलिय र निरङ्कुस चरित्रप्रति अविश्वास र आशंङका घटेको थिएन । भ्रष्ट्राचार, असुरक्षा र कुशासनले जनताहरु पञ्चायतको विकल्प खोज्दै थिए ।
विस्तारै पञ्च विरोधी खेमामा जनसमर्थन थेग्रिन र एकीकृत हुन थालिसकेको थियो । कम्युनिष्टहरु देशैभरी सङ्गठनको जालो फैलाउँदै राष्ट्रियता र अग्रगामी परिवर्तनको पक्षमा आक्रमक ढंगले उत्रिएका थिए । नेपाली कांग्रेस लोकतन्त्रको लागि कम्युनिष्टहरुसँग मिल्नुपर्ने र कम्युनिष्टहरु पनि निरंकुशताको विरुद्धमा संयुक्त मोर्चा निर्माण गर्नु पर्ने बाध्यतामा पर्दै गएका थिए ।
चुनाव उपयोग नीतिले क्रान्तिलाई विसर्जनतिर लैजाने र पार्टी अवसरवादीहरुको क्रिडास्थल बन्न सक्ने एउटा जबरजस्त मत थियो, मालेभित्र । त्यसलाई बेवास्ता गर्दै ऊ पञ्चायती चुनाव उपयोग नीतिमा गयो । आखिर त्यसले पार्टीलाई जनताको माझमा पुर्यायो । परिवर्तन खोजिरहेको जनमतलाई निकै आशावादी पनि बनायो । प्राप्त सफलताले नेताहरु पनि निकै हौसिएका थिए । आफ्नो सही कार्यदिशा र योजनाको कारण नै यस्तो सफलता मिलेको हो भन्ने उनीहरुको ठम्याई थियो । अर्कोतिर चरम गुट, फुट र अनेकताको शिकार भएका कम्युनिष्टहरु मालेको यो कार्यनीतिबाट आकर्षित हुँदै गएका थिए । केही सानातिना कम्युनिष्ट पार्टीहरु त मालेमै एकीकृत पनि हुन थाले ।
त्यस्तै राष्ट्रिय परिस्थितिको एउटा घडीमा, सायद ०४५ सालतिर हुनुपर्छ म तत्कालिन मालेको एउटा पूर्णकालिन कार्यकर्ताको हैसियतले नुवाकोट सरुवा भए । त्यसअघि म धादिङको विभिन्न इलाकाहरुमा सङ्गठन र सङ्घर्षको जिम्मेवारीमा थिए । क. सुरेश कार्की त्यसताका धादिङ, नुवाकोट र रसुवाको संयुक्त ईन्चार्ज हुनुहुन्थ्यो । उहाँले नै मलाई सरुवा गरी रसुवा र नुवाकोट उपक्षेत्रमा पार्टी र संघर्षको जिम्मेवारी सुम्पिनुभएको थियो ।
त्यसताका धादिङको वर्गसङघर्ष तुलनात्मक रुपमा अलि उचाइमा थियो । जनपक्षीय चुनाव र जिल्ला पञ्चायतमा राजेन्द्र पाण्डेको विजयपछि जिल्लाभर संगठन र संघर्षको क्षेत्र फराकिलो बनेको थियो । पञ्चायती दमन र धरपकड पनि कमजोर थिएन । तैपनि क्रान्तिकारीहरु जोशका साथ सङ्गठन र सङ्घर्षको क्षेत्रमा लागि परेका थिए । नुवाकोटको पार्टी काम धादिङको तुलनामा कमजोर थियो । त्यहाँ अन्य कम्युनिष्टहरु पनि थिए तर उनीहरु मध्ये धेरै जस्तो पञ्चायती गुटहरुको सहयोगी जस्ता मात्र देखिन्थे । त्यतिबेला राजावादीहरु राष्ट्रवादी हुन्छन् भन्ने ठूलो भ्रम थियो । त्यसैले नुवाकोटका केही कम्युनिष्टहरुमा काङग्रेसलाई भन्दा पञ्चलाई अलि बढी मनपराउने कमजोरी थियो । जे भए पनि सबैथरी कम्युनिष्टहरुको सङ्गठन र हस्तक्षेप नुवाकोट भरी नै कमजोर थियो ।
पञ्चायती बडे नेताहरुको पहुँचको कारण मण्डले बिगबिगी भने ज्यादै बढी थियो ।
हो, त्यस्तै परिवेशमा क. भरतसँग मेरो प्रथम भेटघाट भएको थियो । जिल्लाको नगर, बुधसिंह, जिलीङ क्षेत्र मिलाएर पार्टीले एउटा स्थानीय संगठन बनाएको रहेछ । मलाई सम्झना भएसम्म क. भरत, होम पुडासैनी लगायतका साथीहरु त्यसमा हुनुहुन्थ्यो । बेलाबेलामा म त्यो संगठनको बैठक बस्न जिलीङ पुग्थेँ । मैले नै त्यो संगठनलाई चलाउँथे । पछि जिल्ला कमिटी पुनर्गठन हुँदा क. भरत बढुवा हुनुभयो । नारायण खतिवडा, बुद्धि रेग्मी, रामशरण प्याकुरेल लगायतका साथीहरु पहिल्यैदेखि जिल्ला कमिटीमा हुनुहुन्थ्यो । हुने बिरुवाको चिल्लो पात भने जस्तै बिस्तारै क. भरत ति सबैभन्दा अगुवा, सक्रिय र रचनात्मक हुन थाल्नुभयो ।

०४५/०४६ सालको जनआन्दोलनको झिल्का नुवाकोटमा भित्रयाउने काम नेकपा(माले)ले नै गरेको थियो । गाउँ–गाउँमा भूमिगत संगठन विस्तार गर्ने, पञ्चायतको पुत्ला जलाउने, गाउँ र नगर पञ्चायतको साइनबोर्डमा कालो पोत्ने या फ्याकी दिने, विभिन्न क्षेत्रमा पञ्चायती व्यवस्था विरोधी भित्ते लेखन र पर्चा वितरण गर्ने, मुख्य विद्युत हाइटेन्शनलाइनलाई अवरोध खडा गरेर काठमाडौको ब्ल्याक आउटलाई सफल पार्ने जस्ता संङ्घर्षमा पार्टीले महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । पार्टीको तर्फवाट त्यसको नेता क. भरत हुनुहुन्थ्यो । आन्दोलनको ति सबै भूमिकाहरुमा उहाँको साहसिक र कुशल अगुवाइ मैले त्यतिबेलै महसुस गरेको थिएँ ।
आन्दोलनकै क्रममा एकदिन पार्टीले क. भरतलाई विदुर नगरको विभिन्न भागहरुमा भित्तेलेखन र पोष्टरिङ गर्ने जिम्मा दियो । त्यतिबेला मैले देविघाट कलोनीको एकजना मजदुर साथीको क्वार्टरमा बसेर सो योजना बनाएको थिए । क. भरतको एउटा टोलीले नगरका विभिन्न क्षेत्रहरुमा रातभरी भित्तेलेखन र पोष्टरिङ गरेछ । बिहानको झिसमिसे उज्यालोमा उहाँहरु सोही क्वार्टरमा फर्कनु भयो । हामी सबैले बिहानको खाना त्यहि खायौं र कामको समिक्षा गर्यौं ।
उता भित्तेलेखन र पोष्टरिङको कारणबाट प्रशासनमा खैलाबैला भएछ । काठमाडौमा मात्र देखिएको जनआन्दोलनको झिल्का नुवाकोटमा पनि आइपुगेको कारणबाट पञ्च प्रशासकहरु चिन्तित थिए । तत्काल उनीहरुले नगरभरी धरपकड शुरु गरे । राजनीतिबाटै निरास भएर घर बसिरहेका कांग्रेस र कम्युनिष्ट पृष्ठभूमिका नेता कार्यकर्ताहरु प्रशासनको नजरमा परे । उनीहरु धमाधम गिरफ्तार हुन थाले । देविघाट कलोनीमा बसिरहेका हामी क्रान्तिकारीहरु भने प्रहरी प्रशासनको जासुसी संयन्त्रको निरीहता देखेर मरिमरी हाँस्थ्यौं र अर्को योजनाको बारेमा छलफल गर्थ्यौं ।
क. भरतसँगको अनेक प्रसङ्ग मेरो स्मरणमा अझै ताजै छन् । एकपटक हामीहरु काठमाडौ गयौं । उताबाट जनआन्दोलनका पर्चा र पोष्टरहरु ल्याउनुपर्ने थियो । त्यसको लागि हामीले मोटरबाटो रोजेनौं । बरु धादिङको छत्रे देउराली, कुमरी, ठूलीडिही, पन्चासे हुँदै जिलीङबाट त्रिशुली झर्ने योजना बनायौं । दुई दिन लाग्यो । हामीहरुले उक्त सामग्री सुरक्षित ढङ्गले त्रिशुली पुर्यायौं । क. भरतको जनतालाई सम्झाउने अत्यन्त सरल र उत्कृष्ट शैली रहेको कुरा मैले त्यही हिँडाइबाट बुझ्ने मौका पाएँ । मानिसहरु भेटने बित्तिकै नमस्कार गर्ने, उमेर र अवस्थाअनुसार नाता लगाएर सम्बोधन गर्ने, कुरा गर्दै जाँदा राजनीतिक रङ्ग पनि दिइहाल्ने उहाँको मीठो र रोचक शैली थियो । जिम्मेवारीको हिसाबले म उहाँको नेता थिए । तर क्षमताको हिसाबले उहाँको त्यो शैली मलाई समेत अगुवाइ गर्ने खालको थियो । मलाइ उहाँको त्यो शैली अनुकरण गर्न मन लाग्थ्यो ।
‘भरतजी तपाईको जनतासँग प्रस्तुत हुने शैली ज्यादै मिठो लाग्छ । म त्यो शैली अप्नाउछु, भन्छु, तर सक्दिन । कसरी अप्नाउने होला ?’ म बेला–बेलामा यस्तो प्रश्न उहाँलाई गरिरहन्थे । ‘कमरेड, जनताहरु विचारबाट मात्र होइन व्यवहारबाट आकर्षित र परिवर्तित हुन्छन् । हामीले जनताहरुबाट धेरै कुरा सिक्न सक्छौं । क्रान्तिकारीहरुले जहिले पनि जनतासँगको अन्तरक्रियामा जोड दिनुपर्छ । जनतालाई सही बाटो देखाएनौं भने हामी क्रान्तिकारी हुँदैनौं र समाज बदल्न सक्दैनौ ।’ वहाँको यस्तो सफा र मिठो उत्तर म अहिले पनि सम्झिरहेको छु । वास्तवमा भरतजी शुरु देखिनै कुशल नेता हुनुहुन्थ्यो ।
जनआन्दोलनले २०४६ चैत्र २६ गते बहुदलीय व्यवस्थाको पुर्नबहाली गरी छाड्यो । आन्दोलनको बेला सरकारले उपत्यकामा लगाएको कर्फ्यूको कारणबाट म काठमाडौंमै थन्किएको थिएँ । कार्यक्षेत्र फर्कन सकिरहेको थिईन । चैत्र २७ गतेको विजय जुलुस र विशाल जनसभापछि म कार्यक्षेत्र फर्किए । नुवाकोट पुगेपछि मैले पार्टीको बैठक बोलाए । आगामी योजनाबारे पार्टीमा वृहत छलफल भयो । केन्द्रले त्यो बेला प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीको लागि सङघर्ष गर्ने नीति लिएको थियो । सोअनुसार प्राप्त लोकतन्त्रलाई संस्थागत गर्ने र राजतन्त्र विरुद्धको संघर्षमा जोड गर्ने भन्ने थियो ।
०५९ सालसम्म आइपुग्दा उहाँ मेरो नेता र म उहाँको कार्यकर्ताको रुपमा फेरिईसकेको रहेछु । जुन कुरा मैले भेउ पाउन सकेको रहेनछु । हुन पनि अगुवाइ गर्न नसक्नेले कार्यकर्ताको भूमिकामा ओर्लनै पर्छ । समयले कसैलाई पनि पर्खंदैन । अगाडि बढ्नेलाई कसैले छेक्न सक्दैन ।
बदलिंदो परिवेशमा कम्युनिष्ट क्रान्तिकारीहरु बिचको एकतालाई महत्वकासाथ उठाउने पनि पार्टीको अर्को निर्देशन थियो । हामीले सो नीतिअनुसार नै जिल्लाव्यापी विजय सभाहरु गरी जनतामा जाने निर्णय गर्यौं । त्यसबेला क. सुरेश कार्की पनि जिल्ला इन्चार्जको हैसियतमा सँगै हुनुहुन्थ्यो ।
हाम्रो टोली विदुरनगरका कार्यक्रम सकेर तादी खोलाको अनेकौ गाउँहरुमा विजयसभा गर्दै अगाडि बढयो । नर्जामण्डप, खरानीटार, समुन्द्रटार र काउले लगायतका ठाउँहरुमा पनि हाम्रो टोली पुग्यो । नुवाकोटका अग्रणी वामपन्थी नेता क. गणेश पण्डित पनि साथै हुनुहुन्थ्यो । एकजना अग्रज क्रान्तिकारीको नाताले हामीहरु उहाँकै नेतृत्वमा ती विजयसभाहरुमा सहभागी भएका थियौं । क. भरत स्थानीय पार्टीको तर्फबाट उक्त कार्यक्रमको एकजना चल्तापुर्जा व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ पार्टी एकताको बारेमा क. पण्डितसँग लगातार छलफल चलाइरहनु हुन्थ्यो । तिनै सभाहरुले क. भरतलाई नेकपा मालेको एउटा नेताको रुपमा स्थापित गराउन ठूलो मद्दत गर्यो । जनताको पक्षमा र प्रतिक्रियावादीहरुको विरुद्धमा रोचक र आकर्षक शैलीमा धारा प्रवाह विचार दिन सक्ने वहाँको खुवी थियो ।
बदलिँदो परिस्थीतीमा देशैभर र नुवाकोटमा नेकपा मालेतिरको जनआकर्षण सर्वाधिक हुन थाल्यो । सयौं उत्साहित युवाहरु मालेको पक्षमा लामवद्ध हुँदै पार्टी विस्तारमा गोलबन्द हुन थाले । अग्रज कम्युनिष्ट गणेश पण्डितलगायत हजारौं नेता कार्यकर्ताहरु मालेमा एकीकृत हुनुभयो । क. पोष्ट बहादुरसँग पनि पार्टी एकता या कार्यगत एकताको पक्षमा पहल भैरहेको थियो । जे होस्, हेर्दाहेर्दै नुवाकोट लालकिल्लाको रुपमा उभियो । त्यतिबेला क. भरत राम्रो संगठक, कुशल वक्ता र स्थापित नेताको रुपमा देखिन थालिसक्नु भएको थियो ।
नुवाकोटमा करिब डेढ वर्षको कार्यकाल बिताएर म आफ्नै जिल्ला धादिङ फिर्ता भएँ । ०४९ सालको स्थानीय निर्वाचनमा नुवाकोट जिविसमा नेपाली काङ्ग्रेसले बर्चश्व जमायो । क. भरत एमालेको तर्फबाट जिविस सदस्यमा निर्वाचित हुनु भयो । उहाँले जिविसमा निर्वाह गर्नुभएको भूमिका सह्रानीय र उत्कृष्ट थियो । त्यसै आधारमा २०५४ सालको स्थानीय निर्वाचनमा पार्टीले क. भरतलाई विवादकै रुपमा भएपनि जिविस सभापतिको जिम्मेवारी सुम्पियो । म यता धादिङको जिविस उपसभापति चुनिएँ । त्यतीबेला एमालेमा छैटौं महाधिवेशनको रौनक बढिरहेको थियो ।
त्यतिबेला राष्ट्रघाती र असमान महकाली सन्धिको कारण पार्टीभित्र अन्तरसङघर्ष चर्किंदै थियो । आखिर छैटौ महाधिवेशनपछि एमाले विभाजित भयो । एमालेको दक्षिणपन्थी र अवसरवादी कार्यदिशाबाट हामीहरु पनि वाक्क भइसकेका थियौं । यसबारेमा भरतसँग मेरो निरन्तर छलफल र बहस भइरहन्थ्यो । ‘क्रान्ति गर्न क्रान्तिकारी नीति र योजना चाहिन्छ । झन् क्रान्तिकारी एकता अनिवार्य सर्त हो । एमाले/मालेभित्रको बहस अवसरवादीहरुबीच कै बहस हो । यसले क्रान्तिकारीकरणलाई मददत पुर्याउँदैन’ भन्ने हाम्रो ठहर थियो । तैपनि क्रान्तिकारी ध्रुविकरणको निम्ति अलिकती भने पनि सहयोग पुग्छ भन्ने ठानेर क. भरत र मैले सल्लाह अनुसार नै माले हुने निर्णय गर्यौं । पार्टी विभाजनपछि म धादिङको सचिवको भूमिकामा पुगेँ । त्यसपछि हामीबीचको सम्पर्क र सम्बन्ध झन्झन् कसिलो र हार्दिक बन्दै गयो । म बेलाबेलामा क. भरतलाई पार्टी कामको सिलसिलामा धादिङ बोलाइरहन्थे भने वहाँले पनि मलाई पार्टी र सत्ता सम्बन्धी कामको सिलसिलामा नुवाकोट आमन्त्रण गरिरहनु हुन्थ्यो । त्यतिबेला दिनहुँ जस्तो हाम्रो टेलिफोन वार्ता र बेलाबेलामा भेटघाट भैरहन्थ्यो ।
अर्कोतिर त्यतिबेलै माओवादी जनयुद्ध घनिभूत र तिव्र गतिमा विस्तार भइरहेको थियो । एमालेका अनेकौ नेता र कार्यकर्ताहरु समेत माओवादीको क्रान्तिकारी योजना र सफलताबाट आकर्षित भैरहेका थिए । विभाजनको केही समयदेखि नै मालेको एउटा हिस्सा प्रतिगामी दिशातिर उन्मुख हुदै एमालेतिरै फर्कने तयारीमा थियो । ‘एमालेमा पुनः फर्कनु क्रान्तिकारिता हैन अवसरवाद हुन्छ’ भन्ने क.भरतको विचार थियो । एकदिन क. भरतले टेलिफोनमा ‘वामदेवको अवसरवाद झन् झन् प्रष्ट हुँदैछ । त्यसैले कमरेड हामीले विस्तारै विकल्प खोज्नुपर्छ’ भन्ने प्रस्ताव राख्नुभयो । उहाँको त्यो भनाइले माओवादी जनयुद्धलाई सङ्केत गरेको थियो ।
त्यसताक राज्यपक्षबाट कैयौं सर्वसाधारणहरुलाई माओवादीको आरोपमा गिरफ्तार गर्ने र यातना दिने कुरा सामान्य हुन्थ्यो । सभापतिको हैसियतले क. भरतको दैनिक काम ती निर्दोष बन्दीहरुलाई जमानी बसेर छुटाइ दिने हुन्थ्यो । यता म पनि माओवादीको नाममा गिरफ्तार कार्यकर्ताहरुलाई रिहा गराउन लागि परिरहन्थे । जनयुद्धलाई मन पराउने एमाले/माले जनप्रतिनिधीहरु देशैभरी यसैगरी लागेका थिए । जनयुद्धको राप र तापले हामीहरु विस्तारै माओवादीको सहयोगी भैसकेका थियौं ।
क.भरतको विकल्प खोज्नुपर्ने प्रस्तावको बारेमा म पनि सहमत थिए तर मलाई उहाँले छिट्टै विद्रोह गर्नु होला भन्ने लागिरहेको थिएन । किनकी जिविस सभापति भएपछि केहि अवसरवादीहरुले क. भरत र जिविसलाई समेत गलत दिशामा हिँडाइरहेका थिए । उहाँको आदतको बारेमा पनि प्रशस्त टिकाटिप्पणी उठिरहेको थियो । त्यस्तो शैली र आदतको मान्छे कसरी माओवादी बन्ला भन्ने धेरैको आशङ्का थियो र मलाई पनि त्यस्तै लाग्थ्यो । तर आशङ्का बिपरीत क. भरत जनयुद्धको महासमरमा निस्फीक्री चालले हेलिनुभयो र हुँदाखादाको जिविस सभापती समेत छोड्नु भयो ।
एकदिन क. भरतले फोन गरी ‘म त जनयुद्धमा सम्लग्न हुने भए ल तपाई पनि छिट्टै निर्णय गर्नुहोला’ भन्ने आग्रह गर्नुभयो । त्यसताक जिल्ला–जिल्लामा पुरानो सत्तालाई खारेज गरी जनसरकार घोषणा गर्ने माओवादी योजना व्यापक बन्दै गइरहेको थियो । ०५८ साल भाद्र महिनामा नुवाकोटकै एउटा विशाल जनसभामार्फत क. भरतले माओवादीमा प्रवेश गरेको घोषणा गर्नुभयो । त्यस घटनाले नुवाकोट मात्र होइन देशव्यापी तहल्का मच्चियो । माले/एमाले भित्र ठूलो भुइँचालो गयो । पुरानो सत्ताधारीहरु अत्तालिन थाले । अवसरवादीहरु निराश बने । उता क्रान्तिकारी पङ्क्तिभित्र भने बेग्लै उत्साह थपियो ।
माओवादी प्रवेश गरेको केही समयपछि उहाँले एउटा खबर पठाएर मलाई पनि जिविसको पद त्यागी जनयुद्वमा सामेल हुन पुनः आग्रह गर्नुभयो । म त्यतिबेला मालेको जिल्ला सचिवको भूमिकामा भएपनि माओवादीमा संलग्न हुनको लागि सदस्यता आवेदन फर्म भर्ने, नेताहरुसङगको नियमित सम्पर्कमा रहने, जनयुद्धका घाइते र बन्दीहरुलाई सहयोग गर्ने, विभिन्न जनसभाहरुमा सहभागी हुने, स्थानीय पत्रपत्रिकामा जनयुद्धको पक्षमा लेखहरु प्रकाशन गर्ने लगायतको काममा निरन्तर लागिरहेको थिए । तर क. भरतले जस्तै छलाङ मार्न भने आँट आईरहेको थिएन ।
०५९ साल माघ १५ गते युद्धरत माओवादीसँग सरकारले युद्वविरामको घोषणा गर्यो । सायद फाल्गुणको अन्ततिर क. भरत मेरो घर रिचोकटारमा टुप्लुक्क आइपुग्नुभयो । हामीहरुको सम्पर्क नभएको वर्ष दिन भन्दा बढी भैसकेको थियो । उहाँको आगमनले मलाई निकै आश्चर्यचकित र उत्साहित बनायो । एउटा महान् योद्धा क्रान्तिको मैदानबाट सकुशल मेरो अगाडी हुनुहुन्थ्यो । केही दुब्लो शरीर र मैलो कपडामा सजिएको भए पनि उहाँको हँसिलो र बोलक्कड स्वभावमा कुनै परिवर्तन आएको रहेनछ । आत्मविश्वास र ओझिलो वचनले उहाँ युद्धबाट निकै खारिनु भएको जस्तो लाग्यो । उहाँलाई भेटेपछि श्रद्धाले मेरो शिर यसैयसै निहुरियो ।
दुई दिनसम्म हामीहरुले कम्युनिष्ट आन्दोलन र यसका प्रवृत्ति, जनयुद्ध र यसको भविष्य तथा नेतृत्वको विश्वसनियताबारे निकै लामा र गहन छलफल गर्यौं । सही कार्यदिशा, सही नेतृत्व र क्रान्तिकारीहरुको अपूर्व त्यागले अब भने नेपाली क्रान्ति पूरा हुन्छ कि ? छलफलबाट म भित्र आत्मविश्वास पल्हाउन थाल्यो । जनयुद्धको रोमाञ्चक अनुभूतिबाट म त्योबेला क. भरतबाट निकै प्रभावित भएछु ।
अन्तमा क. भरतले मलाई ‘क्रान्तिले सही बाटो लिएको छ, सहिदहरुको सपना पूरा गर्ने उपयुक्त मौका यही हो, हिंडौ’ भन्ने आग्रह गर्नुभयो । मैले त्यो आग्रहलाई हार्न र टार्न सकिन । म उहाँको पछि लुरुलुरु लागे । त्यसको केही दिनपछि हामीहरु मकवानपुरको सरिखेत पुग्यौं । त्यो टोलीमा रामचन्द्र र राममायासहित हामीहरु चारजना थियौं ।
सरिखेत नजिकैको मनहरी खोला फराकिलो बगरमा फैलिएको थियो । त्यो भन्दा पारी बोटवारी पर्दथियो । झम्के साँझमा हामीहरु त्यहाँ पुग्यौं । क.चित्रबहादुर श्रेष्ठ जनसेना र कार्यकर्ताहरुको सुरक्षा घेराभित्र त्यही बसिरहनु भएको रहेछ । त्यतीबेला वहाँ कुन जिम्मेवारीमा हुनुहुथ्यो मलाई थाहा थिएन । यद्यपि महान् युद्धको जिम्मेवारी बोक्ने नेता कम्तीमा केन्द्रीय सदस्य हुनुपर्छ भन्ने मेरो अन्दाज थियो । उहाँसँग नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्यको बारेमा निकै लामो छलफल भयो । जारी जनयुद्धको बारेमा पनि प्रष्ट कुराकानी भए ।
‘संबिधानसभाको निर्वाचन अपरिहार्य र अनिवार्य छ । त्यहि मौलिक बाटो हुँदै नेपाली क्रान्ति पुरा हुने संभावना छ ।’ क.श्रेष्ठले आत्मविश्वासकासाथ मलाई सम्झाए । त्यतिबेला क. भरत मेरो नेताको रुपमा साथै हुनुहुन्थ्यो । ०४५ सालमा उहाँलाई मैले एउटा कार्यकर्ताको रुपमा क्रान्तिमा डोर्याएको थिएँ । ०५९ सालसम्म आइपुग्दा उहाँ मेरो नेता र म उहाँको कार्यकर्ताको रुपमा फेरिईसकेको रहेछु । जुन कुरा मैले भेउ पाउन सकेको रहेनछु । हुन पनि अगुवाइ गर्न नसक्नेले कार्यकर्ताको भूमिकामा ओर्लनै पर्छ । समयले कसैलाई पनि पर्खंदैन । अगाडि बढ्नेलाई कसैले छेक्न सक्दैन ।
०५९ चैत्र १ गते क श्रेष्ठले मलाई पार्टी सदस्यता नविकरण गर्दै नेकपा माओवादीको सदस्यता प्रदान गर्नुभयो । त्यही दिन जनमुक्ति सेना र स्थानीय जनसमुदायको रोहवरमा मैले माओवादीमा प्रवेश गरेको घोषणा गरेँ । त्यस घोषणा सभामा क. भरतले निकै उत्साह जगाउने मन्तव्य दिनुभएको थियो । जुन कुरा म कहिल्यै बिर्सन सक्दिनँ ।
हामी दुईको लालजोडी पुनः जोडियो । त्यसपछि हामीहरुले मकवानपुरको डाँडा र पखेराहरुमा केहि दिन बितायौँ । त्यतिबेला मकवानपुरका नेता क. रुद्र पाख्रिनको भर्खरै सहादत भएको रहेछ । तिनै सहिदको सम्झनामा पार्टीले ‘महान सहिद रुद्र पाख्रिनप्रतिको सम्मान, संगठन निर्माण र विस्तार अभियान’ भन्ने अभियान सञ्चालन गरिरहेको थियो । क. भरत र म सरिखेत, ज्यामिरे हुँदै अभियान टोलीसँगै मकवानपुरको पदम पोखरी पुग्यौ । त्यहाँ पनि हामीहरुले जनयुद्धको आवश्यकता र अनिवार्यताको बारेमा जनसभालाई सम्बोधन गर्यौँ ।
केहिदिन अभियानमा हिडेर हामी दुवै काठमाडौ फर्कियौं । सरकारसँग वार्ता हुने भएपछि पार्टीले काठमाडौंमा कार्यालय खुलायो । त्यसमा क. भरत कार्यालय सचिवको रुपमा तोकिनु भयो भने क. चित्र बहादुर मुख्य सचिवको रुपमा रहनुभयो । वार्ता हुने भए पनि युद्ध अनिवार्य थियो । पार्टीले वार्तालाई युद्धको बिस्तार गर्ने रणनीतिको रुपमा र सरकारले वार्तालाई जनयुद्धको हैसियत पत्ता लगाउने रणनीतिको रुपमा लिएको थियो । म भने सो अवधिमा व्यक्तिगत र अन्य केहि समस्या मिलाएर पुर्णकालीन हुने तयारीमा जुटेँ । बेला–बेलामा क. भरतले मलाई वार्ता कार्यालयमा बोलाउनु हुन्थ्यो र हामीहरु अनेक सन्दर्भमा छलफल चलाई रहन्थ्यौं ।
एकदिन म काठमाडौ अनामनगरको वार्ता कार्यालयमा बसिरहेको थिए । सरकारसँग वार्ता गर्न खटिनु भएका प्रमुख वार्ताकार क. कृष्णबहादुर महरा टुप्लुक्क देखापर्नुभो । हामीहरु विभिन्न राजनीतिक विषयहरुमा छलफल गरिरहेका थियौं । क.भरतले तपाई पूर्व माननीय, म पूर्वसभापति र क. उत्तम पूर्वउपसभापति यहाँ जम्मा भएका छौं । अब पुरानो सत्ताको बैठक पनि यही गरौं र विघटनको वक्तव्य जारी गरौं भन्नुभयो । त्यसो भन्दा क.महरा हाँसिरहनु भयो । क.भरत रमाइलो र ठट्यौली पारामा विषयलाई अन्यत्र मोड्न सिपालु हुनुहुन्थ्यो । विषयवस्तुलाई रोचक बनाउन उहाँ बेलाबेलामा यस्ता अनेकौँ ठट्यौलीहरु गरिरहनुहुन्थ्यो ।
वार्ता कार्यालयको महत्वपूर्ण जिम्मा र भूमिकाले क. भरतलाई निकै अग्लो बनायो । एमालेका असन्तुष्ट नेता कार्यकर्ताहरु र अन्य वामपन्थी नेताहरु पनि क.भरतलाई खोज्दै अनामनगर आइपुग्थे । फोन सम्पर्क गर्ने नेताहरु पनि प्रशस्त हुन्थे । ति सबैलाई उहाँले क. महरासँग भेटाउने बन्दोबस्त मिलाउनु हुन्थ्यो । यि सबै दृष्यहरुको साक्षी भईरहँदा मलाई भने नेपालमा क्रान्तिकारी ध्रुविकरण नयाँ उत्कर्षमा पुग्दै गरेको अनुभूति हुन्थ्यो । कार्यालयमा रहँदा सरकारसँग वार्ताको समन्वय गर्ने, विभिन्न समूह र व्यक्ति विशेषगरी वामपन्थीहरुसँग भेटघाट र एकताको वातावरण मिलाउने काममा क. भरतले महत्वपूर्ण भूमिका खेल्नु भयो ।
वार्ता नमिलेपछि ०६० भाद्रबाट युद्ध विरामभङ्ग भयो । पुनः युद्ध हुने नै भयो । दुवैथरीले भिषण तथा अन्तिम युद्धको तयारी गर्न थाले । म त्यतिबेला मकवानपुरको पश्चिम र धादिङको दक्षिण इलाकाको जिम्मेवारीमा थिए । क. भरत भने रसुवा, नुवाकोट र धादिङ तिरको पार्टी काम हेर्नुहुन्थ्यो । पार्टीले उहाँलाई उपक्षेत्रिय ब्युरोमा राखेको थियो । उहाँ अखिल नेपाल किसान संघ (क्रा)को केन्द्रिय सदस्य पनि हुनुहुन्थ्यो । उपल्लो कमिटीको हैसियतले क. भरत बेलाबेलामा मकवानपुरतिर पनि आईरहनुहुन्थ्यो ।
सङ्गीन अवस्था भए पनि क.भरतसँग मेरो बारम्बार भेट भइरहन्थ्यो । भेट हुनासाथ हामीहरु अन्तरङ्ग छलफल गर्दै समय बिताउथ्यौं । क्रान्तिको दिशा, नेतृत्वको प्रवृत्ति र शैली, एमाले र माओवादीबीचको तुलनात्मक फरक, आदिबारेमा हाम्रो बीचमा घण्टौं छलफल भैरहन्थ्यो । माओवादीमा म नवआगन्तुक थिए । क. भरत माओवादीको लागि पुरानो भैसक्नु भएको थियो । माओवादी नेता र कार्यकर्ताहरुको शैली र प्रवृत्तिबारे क.भरतले मलाई बारबार सचेत गराउनु हुन्थ्यो । पछिल्लो पटक मकवानपुरको डाँडाँखर्क दमारमा उहाँले मलाई सम्झाउनु भएको कैयौ विषयहरुबारे मलाई आजसम्म सम्झना छदैँ छ ।
एकदिन म मकवानपुरको कालीटारमा बसिरहेको थिएँ । समाचारहरुमा ‘माओवादी नेता भरत ढुङ्गाना धादिङको गुम्दीबाट गिरफ्तार’ भन्ने खबर आयो । खबर सुन्ने बित्तिकै मेरो मन सशङ्कित बन्यो । एक मनले ‘भरत जस्तो स्थापित नेतालाई शाही सेनाले हत्या चाहिँ गरिहाल्दैन कि’ भन्ने लाग्यो भने अर्को मनले ‘यी जल्लादहरुको के विश्वास ? जे पनि हुन सक्छ’ भन्ने लाग्यो । यस्तै द्विविधा र अन्यौलको बीचमा बेलुकीपख म नजिकैको अर्को गाउँ वनझाक्री गए । त्यहाँ जिल्ला सेक्रेटरी क. रमण एउटा खोलामा नुहाइरहनु भएको रहेछ ।
भरतसँगको पुरानो कुराहरु याद गर्दै विशेष गरी पुरानो सत्ताबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीमा प्रवेश गर्नु भएको कुरालाई उहाँले सर्हाना गर्नुभयो । उहाँले आफ्नो र क. भरतको कतिपय प्रवृति नमिलेको कुरा पनि खुलस्त बताउनु भयो । जे होस् हामीले त्यहाँ निकै बेर क. भरतको विगतबारे समिक्षा गरिरह्यौं । त्यतिबेला कसै–कसैले माले जस्तो अवसरवादी पार्टी र पुरानो सत्ताबाट विद्रोह गरेर आएको व्यक्ति दुश्मन सामु आत्मसमर्पण गर्न पनि सक्छन् भन्ने आशंका नगरेका होइनन् । समाचार सुन्दासुन्दै क.भरतको सहादत भएको खबर आयो । वास्तवमा आशंका विपरीत क. भरतले महान् मृत्युवरण गर्नुभयो र उहाँ महान् बन्नुभयो ।
हत्याको खबर सुनेपछि म निकै स्तब्ध भए । निकैबेरसम्म बोल्न पनि मन लागेन । खाना खान पनि मन लागेन । के–के अपुग भएजस्तो अनुभूति भैरह्यो । रातभरी मन गर्हुङ्गो भैरहयो । निन्द्रै लागेन । अव्यक्त पीडाले मन विह्वल बनिरहयो । जनयुद्धमा कैयौको सहादत भैसकेको छ । आफुसँगै हिडेका कैयौं साथीहरुको पनि सहादत भैसकेको छ । तर क. भरतको सहादतले भएको पीडा अकल्पनिय थियो । अब मैले उहाँ जस्तो प्रिय साथी कहाँ पाउने भन्ने विषयले मनको रिक्ततालाई भर्नसकेन । जे गर्दा पनि मन बुझाउन सकिन । अन्तत मध्यरात पनि कट्यो । अँध्यारोमा छामछामछुमछुम गर्दै मैले टुकी बाले । टुकीको मधुरो उज्यालोमा क.भरत मेरो नजिकै आउनु भयो । मैले कपीमा वहाँलाई यसरी उतारेपछि मात्र बल्ल म निदाएछु ।
एउटा योद्धा ढल्यो भन्दा मुटु साह्रै दुख्दो रैछ
रक्त मुछेल माटो भित्र चित्र उसको आउँदो रैछ
हाँसी हाँसी मर्ने मृत्यु दुश्मन माथि बज्रिंदो छ
जति ढलुन् भौतिक शरीर तर क्रान्ती फक्रिंदो छ
एउटा ढल्यो भन्नु मात्र हजार–हजार उठिसके
निरङ्कुशताको कालो पर्दा च्यात्न कम्मर कसिसके
सहिदका सपना भन्नु स्वाभिमान र इज्जत रैछ
एउटा योद्धा ढल्यो भन्दा मुटु साह्रै दुख्दो रैछ
देश भन्नु माटो रैछ रक्त बिज उम्रिसक्यो
सुत्नेहरु ब्यूँझी उठे आगो जस्तै जलिसक्यो
समानता र स्वतन्त्रता महान् विचार हुँदो रैछ
एउटा योद्धा ढल्यो भन्दा मुटु साह्रै दुख्दो रैछ ।
(कँडेलद्वारा ११ वर्ष अगाडि लिखित संस्मरण)
