स्थानीय तहः कतै योजनाको खातैखात, कतै अभाव

Avatar photo
Dhadingpost
असार ३१, २०७७

काठमाडौं असार ३१ । स्थानीय तहमा गएको करिब ६० प्रतिशत बजेट पूर्वाधार विकासमै खर्च हुने गरेको छ । त्योमध्ये पनि सडक खन्ने काममा सबैभन्दा बढी बजेट खर्च हुँदै आएको छ ।

कतिपय स्थानीय तहमा दीर्घकालीन र योजनाबद्ध विकासको अभावमा सरकारको लगानी बालुवामा पानीजस्तै भएको छ । स्थानीय आवश्यकता र औचित्यका आधारमा भन्दा पनि स्वार्थप्रेरित भएर योजना छनोट हुँदा लक्ष्य एकातिर काम अर्कोतिर जस्तो भएको छ ।

स्थानीय शासन विज्ञहरूले भने स्थानीय तहमा व्यवस्थित योजना निर्माणका लागि योजना बैङ्क बनाउन सुझाव दिएका छन् । दिगो विकासका लक्ष्य कार्यान्वयन गराउन र आवश्यकताका आधारमा मात्र योजना कार्यान्वयन गराउन स्थानीय तहमा योजना बैङ्क बनाउनुपर्ने उहाँहरूको सुझाव छ ।

योजनाविद् वीरकृष्ण महर्जनले आयोजना बैङ्कको अभावमा एउटै स्थानीय तहमा तीनै तहका एकै प्रकृतिका योजना छनोट हुँदा कतै योजनाको खातैखात कतै योजनाको अभाव हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “आयोजना बैङ्क निर्माण गर्दा स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा योजना कार्यान्वयन गर्न सकिन्छ र सबै भूगोल र क्षेत्रमा समानुपातिक विकास गर्न सम्भव हुन्छ ।”

तीनै तहका योजना कार्यान्वयन गर्ने भूगोल स्थानीय तह नै भएकाले अहिले स्थानीय तहमा योजना बैङ्कको अभावमा दीर्घकालीन विकास सम्भव हुन सकेको छैन । जब स्थानीय तहमा पाँच वर्षको खाका बन्छ, त्यसले सयौँ आयोजनाको परिकल्पना गर्छ । उक्त योजनामध्ये सबैभन्दा बढी प्राथमिकता आधारमा ‘पी वान, पी टु, पी थ्री’का आधारमा आयोजना कार्यान्वयन गरिन्छ ।

योजना बैङ्कको अवधारणा

स्थानीय तहको भूगोल सुहाउँदो, दीर्घकालीन महŒव राख्ने, ठूलो प्रकृतिका आयोजना एकीकृत गरी सूचीकृत गर्ने कार्य नै योजना बैङ्क हो । खानेपानी, सडक, रोजागार विद्यालय, कलेज भौतिक पूर्वाधार निर्माण, रोजगारी सिर्जना लगायतका योजनालाई एकीकृत गरी बैङ्कका रूपमा राख्ने र लगानीको गर्ने स्रोत भेटिएपछि क्रमिक रूपमा त्यस्ता योजना कार्यान्वयन गर्ने कार्य नै योजना बैङ्क भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले जानकारी दिनुभयो । “अहिले हचुवाको भरमा योजनामा बजेटमा हाल्ने परम्परा छ, आयोजना बैङ्क निर्माण भइसकेपछि भने बजेटअगावै प्राथमिकताका आधारमा योजना छनोट गरिन्छ”, उहाँले भन्नुभयो ।
आयोगका अनुसार आगामी वर्षदेखि सङ्घीय सरकारले आयोजना बैङ्कलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । त्यसैका आधारमा प्रदेश र स्थानीय तहले आयोजना बैङ्क बनाई स्थानीय आवश्यकता र औचित्यका आधारमा आयोजना बैङ्क कार्यान्वयन गर्ने प्रा.डा. कँडेलले बताउनुभयो ।

अहिले स्थानीय तहमा आफ्नै योजना पाँच सय वटासम्म र सङ्घ, प्रदेशका योजना गरी करिब सात सयवटा योजना सञ्चालन हुँदा आयोजना बैङ्कको अभावमा कतिपय योजना कार्यान्वयनमा दोहोरिएका पनि छन् ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले स्थानीय तहका योजना पद्धतिले पनि राष्ट्रिय र दिगो विकासका लक्ष्य हासिल गर्ने गरी स्थानीय तहलाई योजना बैङ्क बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । गोरखापत्रका खवर प्रकाशित छ ।

x