
काठमाडौं असार ३० । पहिरोमा पुरिएर तनहुँमा १० को मृत्यु, दुई बेपत्ता
तनहुँका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । दुईजना हराइरहेका छन् । दुईजना घाइते भएका छन् ।
सोमबार बिहान ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीमा गएको पहिरोमा परी एउटै परिवारका पाँचजनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा ३० वर्षीय भेषबहादुर थापा, उनकी पत्नी २९ वर्षीया नानुमाया, पाँच वर्षीया छोरी अमिसा, २२ वर्षीय भाइ महावीर र १९ वर्षीया भाइबुहारी मनिसरा (महावीरकी पत्नी) रहेका छन् । पहिरोमा पुरिएर ६० वर्षीया ज्योति थापा घाइते भएकी छिन् । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका सहायक सिडिओ चित्रांगत बरालले बताए ।
त्यस्तै, व्यास नगरपालिका–९ माझफाँटमा गएको पहिरोमा पनि एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४० वर्षीया कमला थापा, उनका २४ वर्षीय छोरा मनोज, २१ वर्षीया छोरी अञ्जना र ७० वर्षीया मैतीमाया घर्तीको मृत्यु भएको छ । २० वर्षीय राजेश थापा हराइरहेका छन् । माझफाँटमा गएको पहिरोमा पुरिएर ५० वर्षीय केसरबहादुर थापा घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
म्याग्दे गाउँपालिका–६ मा गएको पहिरोमा पुरिएर १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । व्यास नगरपालिका– ११ मा गएको पहिरोमा ५२ वर्षीय पदमबहादुर भुजेल बेपत्ता भएका छन् । हराइरहेकाहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीले खोजी गरिरहेको सहायक सिडिओ बरालले बताए । पानी परिरहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको उनको भनाइ छ ।
पहिरोमा परी ज्यान गुमाएका ऋषिङ गाउँपालिका– ८ भैँसीकिलीका भेषबहादुरको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापासहितका जनप्रतिनिधिहरू गाउँमै पुगेर पीडित परिवारलाई राहत दिएका हुन् । नयाँ पत्रिकाले खवरप्रकाशित गरेको छ ।

