
काठमाडौं असार २७ । प्रधानमन्त्रीको राजिनामा मागिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ भने पार्टी फुटको तरंग पनि क्रमिक रुपमा सेलाउँदै गएको छ ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित हेभिवेट नेताहरु उत्रिए पछि नेकपालाई फुटबाट जोगाउन चिनियाँ राजदुत होउ याङ्कीको सक्रियता महत्वपूर्ण सावित हुँदै गएको नेकपा स्रोतले बतायो ।
पेचिलो बन्दै गएको ओलीको राजीनामा माग मथ्थर हुनुभन्दा अघि चिनियाँ राजदुत होउ याङ्कीको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनले यस हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई भेट्नु नै नेकपा पुनः एकतबद्ध हुने वातावरण बनेको नेताहरु बताउँछन् ।
राजदुत याङ्कीको सक्रियतापछि नेकपा विवाद मथ्थर हुँदै गयो । बैठक नै बसेन । ओली विरोधी समुहको एकतामा समेत संकट आयो । ओलीमाथि स्थायी कमिटीको बैठकबाट निर्णय गर्न तम्सिएका नेताहरु अगाडि बढ्न तयार भएनन् । अब नेकपाको स्थायी कमिटीको बैठक २ साउनका लागि सारिएको छ ।
