
थियो बगैँचा रमणीय एक
फुल्थे जहाँ फूलहरू अनेक
माली स्वयम् फूल चुँडाइदिन्छ
उत्थान गर्ने अब को रहन्छ ?
अशक्त अल्छी अलपत्र जो छन्
नेपालमा राज गरेर बस्छन्
पुगे उँभो शासक वर्ग मात्र
जहाँ थियो देश त्यहीँ छ आज ।
बोल्नेहरूमा छ अदम्य शक्ति
बोलेर देखिन्छ र राष्ट्रभक्ति ?
विदेशिएका मुटु झन् बिरानो
नेपालको चित्र छ भित्र सानो ।
युवा हराए परदेशभित्र
पैसा पठाए तर देशभित्र
सामान कस्तो कुन भित्रिएन ?
परन्तु नेपाल धनी भएन ।
सीता तथा गौतम बुद्ध छैनन्
यो देश हाँक्ने बलभद्र हैनन्
पुर्खाहरूको महिमा सुनाई
के फाइदा हुन्छ र देशलाई ?
नबेच छोरी अबला भनेर
आमा रुँदैछिन् नित चोकनेर
आँखा हुने मानिस आउँदैनन्
अन्याय या न्याय छुट्याउँदैनन् ।
झुकेर बिन्ती नगरी मलाई
मिल्दैन थोरै पनि खानलाई
काटेर प्यारो यस देशलाई
गिज्याउँछन् शत्रुहरू मलाई ।
छाती फुलाएर घमण्ड गर्न
रहेन बाँकी अब स्वाभिमान
के गर्नु मात्रै रिस गर्न सक्छु
चिम्लिन्छु आँखा अनि हेर्न सक्छु ।
मर्ने थिएँ मर्नुछ एकचोटि
बचाउँछन् शत्रु हजारचोटि
सम्झेर छाती यतिसम्म दुख्छ
कि खप्न सक्ने क्षमता सकिन्छ ।

