
धादिङ असार १७ । धादिङका प्राय: सबै विद्यालयहरु कोरोना भाईरस संक्रमणको जोखिमबाट बच्न बन्द छन् । सरकारले वैकल्पित शिक्षण विधि अपनाउन निर्देशन गरे सँगै धादिङका कतिपय विद्यालयहरुले टोल-टोलमा शिक्षण केन्द्र बनाएर विद्यार्थीहरुलाई गृहकार्य दिने गरेका छन् ।
१० वटा शिकाई केन्द्र बनाएर पढाउन सुरु गरेका थियौं, तर प्रभावकारी नदेखिए पछि विद्यालयमै पढाई सुरु गरिएको धादिङ बेनीघाट रोराङ मलेखु स्थित रिचोकटारमा रहेको वागेश्वरी माविका प्रधानाध्यापक शेरबहादुर अधिकारी बताउँछन् ।
बागेश्वरी माविमा ४३ जना शिक्षक छन्, जसमा ५ जना तराईका हुन् उनीहरु लकडाउनका कारण फर्कन सकेका छनैनन् भने अन्य ३८ जना शिक्षकहरुले दैनिक विद्यालय आएर पढाउँन सुरु गरेका छन् ।
यसरी सुरु भयो बागेश्वरीमा पढाई
विद्यालयले असार १६ गतेबाट बिहान १०ः३० बजे देखि ३ बजे सम्म पढाई सुरु गरेको हो । पढाईलाई सहजता दिन विद्यालयले साप्ताहिक तालिका समेत बनाएको छ । तालिका अनुसार असार १६ र १७ गते कक्षा ८,१०, ४ र ५ कक्षाको पढाई हुने, १८ र १९ गते ६,७, १ र ३ कक्षा, २१ र २२ गते ९ र २ कक्षा, २३ र २४ गते १०, ८, ४ र ५ कक्षा, २५ र २६ गते ६, ७, १ र ३ कक्षा, २८ र २९ गते ९ र २ कक्षा, ३० र ३१ गते १०, ८, ४ र ५ कक्षाका पढाई हुने जनाईएको छ ।

पुर्णतः सामाजिक दुरी कायम गरी प्रत्येक बेन्चमा २ जना मात्र राख्छौ, हरेक विद्याथीहरुलाई कक्षा प्रवेश गर्नु पूर्व थर्मल गन मार्फत ज्वरो चेक गर्छौ, मास्कको व्यवस्था गरिएको छ । विद्यालय आफैले विद्यालयको विज्ञान प्रयोगशालामा सेनिटाईजर निमार्ण गरेका छौ त्यो विद्यार्थीलाई लगाउन दिन्छौ, प्र. अ. अधिकारीले शिक्षण तयारीका बारे धादिङपोष्टलाई बताए ।
असार ३१ पछि बर्खा विदा हुन्छ, त्यसपछि राज्यले शैक्षिक संस्था संचालनका लागि केहि नीति अवलम्बन गर्ला यदि लक डाउन लम्बिरह्यो भने यहि मेथडबाट कक्षा संचालन गरिने समेत प्र. अ. अधिकारीले बताए ।

