नेपालमा पनि आयो सलह किरा

Avatar photo
Dhadingpost
असार १३, २०७७

काठमाडौं असार १३ । वर्षाद नरुचाउने सलह किरा भारत सम्म आए पनि नेपाल नआउने विज्ञहरुले बताई रहेको बेला सलह किरा बारा र सर्लाही जिल्लामा देखिएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव डा। हरिबहादुर केसीका अनुसार ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

सलह किराको परिचय

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो किरा समूहमा बस्न मन पराउँछ । यो सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ ।

१० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ ।

सलहबाट हुने नोक्सानी बाट बच्न निम्न सावधानी अपनाउनु पर्छ

विश्वमा अन्य मुलुकमा यसको व्यवस्थापनमा गरिएका तौर तरिकालाई अध्ययन गर्दा र सो तयारीलाई नेपालमा पनि लागु कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा उल्लेखित विधिहरू गर्नुपर्ने जरुरी देखिन्छ ।

१. पहिले त सलह किरा छिमेकी देश भारतका राज्यहरूमा कसरी फैलिएको छ। त्यसको ट्र्याकिङ गर्नुपर्ने जरूरी देखिन्छ ।

२. नेपाल सरकारले नै यसलाई सम्भावित क्षति पुर्‍याउन सक्ने किराहरूको सूचीमा राखेर यस किराको बारेमा छलफल तथा व्यवस्थापनका विधिहरूका बारेमा पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

३. हाल प्रकोप भइरहेका अन्य किराहरू जस्तै अमेरिकन फौजी किरा, गोलभेडामा लाग्ने टुटालगायत अन्य हमलाकारी किराहरूलाई Invasive Insect Management Center को रुपमा विकास गरी किराको निरन्तर अनुगमन, अनुसन्धान एवं कृषकको स्तरमा प्रसार गर्नुपर्ने देखिन्छ ।

४. नेपाल सरकारले सार्क क्षेत्रमा नै यस्ता किराहरूको व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा छलफल एवं सहकार्य बढाउनुपर्ने देखिन्छ । भारत तथा पाकिस्तानमा फैलिसकेको यो किरा अन्य सार्क मुलुक जस्तै– बंगलादेश, भुटानमा फैलन नदिन अपनाउन सकिने जैविक बार लगायत अन्य विधिहरूको बारेमा पनि तत्काल छलफल चलाउनुपर्ने देखिन्छ ।

५. नेपालभरि छरिएर रहेका विभिन्न सरकारी एवं‌ गैह्रसरकारी संघसंस्था, कृषि अनुसन्धान गर्ने एवं‌ विश्वविद्यालयको सहकार्यमा विज्ञ टिम गठन गरी यसको नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउनका लागि अब ढिला गर्नुहुँदैन । तस्वीरः invasive.org बाट साभार

x