नेकपा नेतालाई ‘कोरोना जन्तर’ खासमा के हो ?

Avatar photo
Dhadingpost
असार १३, २०७७

काठमाडौं असार १३ । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै संचारकर्मीलाई भनेको भिडियो अहिले सामाजिक संजालमा भाईरल बनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका थिए ।

बुधबारको स्थायी कमीटीको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा यो कार्ड देखिन्छ । नेता नेपाल आफैँले घाँटीमा भिरेका थिए । झलनाथ खनाल, ईश्वर पोखरेललगायतका नेताहरूले पनि यो लगाएको देखिन्छ ।

के हो कार्ड ?

‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ पोर्टेबल एयर प्युरिफायर हो । चार ग्राम तौल हुने यस्तो कार्डमा क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखिएको हुन्छ । यसले भाइरस नष्ट गर्ने दाबी छ ।

यस्ता कार्ड निर्माताहरूले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा ९लो कन्सन्ट्रेसन० क्लोरिन डाइअक्साइड हावामा छाड्दै त्यहाँ भएका भाइरस ब्याक्टेरिया, धुवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।
र यो कार्डमाथि प्रश्न पनि उठेको छ ।

चिनियाँ समाचार संस्था सीजीटीएनमा प्रकाशित समचारअनुसार यसको प्रयोग कतिपय अवस्थामा निकै हानिकारक हुन सक्छ । विशेषज्ञहरूका अनुसार छोटो समयमा नै जीवाणुमुक्त गर्न उच्च मात्रामा क्लोरिन डाइअक्साइडको प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्न सक्छ ।

तर यो कार्डको पक्षमा मत जाहेर गर्ने कतिपय विशेषज्ञहरूले भने कार्डमा क्लोरिन डाइअक्साइडको मात्रा थोरै हुने र यसको असर पनि कम पर्ने बताएका छन् ।

यद्यपि कार्ड फुट्यो भने क्लोराइट निस्किन्छ, जुन मानिसको छालामा पर्‍यो भने जल्न सक्छ । साथै, श्वासप्रश्वासमा पनि समस्या हुन सक्छ ।

जापान, अमेरिकालगायतका मुलुकमा पनि यस्तो कार्ड प्रयोग नगर्न सुझाव दिइएको छ।

एक अनुसन्धानले क्लोरिन डाइअक्साइड अनुमानका भरमा प्रयोग भइरहेको र यसले जीवाणुहरू मार्न सक्ने पुष्टि नभएको उल्लेख छ । बरु मानिसको फोक्सोमा असर परेको देखिएको छ ।

x