फोकस नेपालद्वारा सिद्धलेकलाई कोरोना विपत्तीमा ४१ लाख ८४ हजार सहयोग

Avatar photo
Dhadingpost
असार ४, २०७७

धादिङबेसी असार ४ । फोकस नेपालले सिद्धलेक गाउँपालिकालाई यो कोरोना भाईरस संक्रमणले निम्त्याएको विपत्तीमा ४१ लाख ८४ हजारको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

क्रिश्चियन एडको आर्थिक सहयोगमा फोकस नेपालले सिद्धलेक गाउँपालिका मार्फत पहिलो चरणमा लकडाउनका कारण खाद्यान्न सङ्कटमा परेका ७१३ परिवारलाई १६ लाख ७३ हजारको खाद्यान्न, ६ लाखको स्वास्थ्य सुरक्षा सामाग्री, १६ लाख ८४ हजारको ८० सेट सर्जिकल बेड र २ लाख २८ हजारको १०० जना गर्भवती महिलाका लागि पौष्टिक आहार ४१ लाख ८४ हजार सहयोग गरेको हो ।

फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवालका अनुसार खाद्यान्न वितरण र स्वास्थ्य सुरक्षाको सामाग्री वितरण भैसकेको भएपनि सर्जिकल बेड गाउँपालिकालाई हस्तान्त्रण सुरुभएको छ, भने यो सकिए सँगै गर्भवती महिलाका लागि पौष्टिक आहार वितरण कार्यक्रम हुन्छ ।

कार्यक्रम संयोजक सिलवालका अनुसार सर्जिकल बेड गाउँपालिकाले तोकेको ४ ठाउँ मै पुगेर हस्तान्त्रण गर्न सुरु गरेका छौ । बिहिबार नलाङ बुङ्चुङ स्थित नागेस्वरी आधारभुत विद्यालयमा २० थान बेड गाउँपालिका प्रमुख प्रेम सिलवाल, उप प्रमुख कमला शर्मा वडा अध्यक्षहरुको उपस्थितिमा हस्तान्त्रण गरेको बताए ।

सोमाबार भित्र गाउँपालिकाले तोकेको स्थानहरुका लागि ग्याल्मो रानी आधारभुत विद्यालय कुम्पुर परेवाटारमा २० थान, महाकाली मावि कुम्पुर पिपलटारमा २० थान र जलेश्वरी मावि सलाङघाटमा २० थान वितरण गरिने समेत संयोजक सिलवालले धादिङपोष्टलाई बताए ।

क्रिश्चियन एडको आर्थिक सहयोगमा फोकस नेपालले सिद्धलेक गाउँपालिकामा अन्य सहयोगका कार्यक्रमहरु पनि नियमित गर्दै आईरहेको छ ।

जसमा १२ वटा सिंचाईको काम, ३ वटा खानेपानी आयोजनाको काम, अपाङ्गता मैत्री शौचालय ३०० जना भन्दा बढी कृषकहरुलाई कृषि सामाग्री प्रदान, नलाङ खिर्यमा १० लाख र बुङ्चुङमा ९ लाखको लागतमा तरकारी तथा फलफुल संकलन केन्द्र निमार्ण रहेको छ ।

x