
काठमाडौं असार ३ । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापा, रितेश थापा, विकाससिंह क्षत्री, सन्दीप राई, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले अदालतबाट सफाइ फाएका छन् ।
विभिन्न फुटबल प्रतियोगिताहरुमा मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको आरोपमा पाँच वर्षदेखि उनीहरूविरुद्ध मुद्दा चलिरहेको थियो । सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसलालाई नै सदर गरिदिए सँगै उनीहरुले सफाइ पाएका हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो गरेको आरोपमा उनीहरूलाई २०७२ साल असोजमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। उक्त अभियोगमा उनीहरूलाई यसअघि २०७५ जेठ २४ गते विशेष अदालतले निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो।
तर, विशेष अदालतको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो। यद्यपि खेल मिलेमतोको आरोपमा यी ६ जना खेलाडी र प्रशिक्षकलाई विश्व फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ (एएफसी) ले भने फुटबलका सबैखाले गतिविधिबाट आजीवन प्रतिबन्धको कारबाही गरेको छ।
