
काठमाडौं जेष्ठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर परि ६ जनाको मृत्यु भएको छ भने अझै ३ जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिवार राति नै फेला पारिएको थियो। बिहान ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापा, ५२ वर्षीय तुलबहादुर थापा र नाम नखुलेका एकजनाको शव फेला परेको छ ।
शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो। राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो। घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरी निरीक्षक सुवेदीले धादिङपोष्टलाई बताए ।

