अनलाइन फारम भर्न नसकेर ५३ हजार मध्य १३ हजारले मात्र पाए छात्रवृत्ति

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७७

वर्षमा एकपटक अनलाइन फाराम भर्न नसकेर छात्रवृत्ति गुमाउने अवस्थामा एकैपटक ‘भर्चुअल क्लास’ कसरी सम्भव होला ?

काठमाडौं जेष्ठ २३। माध्यमिक तहका ५३ हजार गरिब विद्यार्थीलाई छात्रवृत्ति दिन सरकारले गत आर्थिक वर्ष अनलाइनमार्फत निवेदन मागेको थियो । तर, १२ हजार सात सय छात्रवृत्ति मात्रै वितरण भए किनकि अधिकांश गरिब र सीमान्त समुदायका विद्यार्थी इन्टरनेटको पहुँच र प्रयोगभन्दा बाहिर छन् ।

अनलाइन फाराम भर्न नसक्दा उनीहरूका लागि छुट्याइएको एक अर्ब बजेटमध्ये ८० प्रतिशत फ्रिज भयो । वर्षमा एकपटक अनलाइन फाराम भर्न पनि नसक्ने समुदाय भएको देशमा सरकारले कुनै पूर्वाधार विकासविना ‘भर्चुअल क्लास’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

इन्टरनेट मात्रै होइन, रेडियो र टेलिभिजनसमेत घरमा नभएका लाखौँ विद्यार्थीलाई भर्चुअल शिक्षाका लागि सरकारले न प्रविधि दिएको छ, न वैकल्पिक व्यवस्था नै गरेको छ । प्रविधिको पहुँचमा नभएका बालबालिकालाई कसरी पढाउने भन्ने सरकारी नीतिमा कतै छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म देशभर ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् । तीमध्ये २५ लाख विद्यार्थी निजी विद्यालयमा छन् । सहरका निजी विद्यालयले सञ्चालन गर्न खोजेको, तर अधिकांशले नसकेको ‘भर्चुअल क्लास’को विषयमा अहिले सर्वत्र बहस भइरहेको छ । तर, सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५६ लाख विद्यार्थीको सिकाइ पद्धतिको विषयमा बहस नै भएको छैन ।

केही दिनअघि मात्रै सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशभरका २९ हजार ६ सय सात सामुदायिक विद्यालयमध्ये आठ हजार तीन सय ३६ मा कम्प्युटर पुगेको छ । त्योमध्ये पनि तीन हजार ६ सय ७६ विद्यालयले मात्रै शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधि प्रयोग गर्छन् । सामुदायिक विद्यालयका तीनदेखि पाँच प्रतिशत विद्यार्थीसँग मात्रै ‘भर्चुअल’ अध्ययनका लागि पहुँच भएको अध्ययनले देखाएको छ ।

निःशुल्क गरिएको कक्षा आठसम्मको कक्षा पढ्ने उमेर समूहका करिब तीन लाख बालबालिका गरिबीलगायतका कारणले अहिले पनि विद्यालयको पहुँचबाहिर छन्, भर्ना भएका विद्यार्थी पनि नियमित छैनन् ।

हजारौँ विद्यार्थीका अभिभावक साँझ–बिहान आफ्ना बालबालिकाको मुखमा माड कसरी लगाउने भन्ने संघर्षमा छन्, उनीहरूले रेडियो सुन्ने, टेलिभिजन हेर्ने र इन्टरनेट चलाउने सपनासम्म देख्न पाएका छैनन् । त्यस्तो परिवारका बालबालिकालाई कसरी पढाउने भन्ने विषयमा सरकारी नीति मौन छ ।

सरकारले माध्यमिक विद्यालयमा समेत प्रविधिको पहुँच पु¥याउन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षमा एक–एक हजार विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब स्थापना गर्न रकम विनियोजन गरेको छ । तर, यो देशमा सामुदायिक विद्यालय २९ हजार छन्  । यस्तो अवस्थामा भर्चुअल पठनपाठनमा जोड दिँदा लाखौँ विद्यार्थी सिकाइबाट वञ्चित हुने देखिन्छन्  । आजको नयाँ पत्रिका दैनिकमा खवर प्रकाशित छ ।

x