
धादिङ जेष्ठ २० । केहि बर्षदेखि बेलायतका बस्दै आएका विष्णु खरेलले आफ्नो जन्म दिनको अवसरमा धादिङ र चितवनमा रहेका असाह्य तथा गरिव परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
चितवन घर भई बेलायत बस्दै आएका खरेलले आफ्नो जन्म दिनको अवसरमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ माथिल्लो रामपुरमा ६८ घरपरिवार र कोरोना महामारीपछि लकडाउनका बेला कामविहीन रहेका चितवन कालिका नगरपालिकाका ९० घरका चेपाङलाई पनि खाद्यान्न सहयोग हुन् ।
खरेलले बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा टेकअवे च्यारिटी आयोजना गरी त्यस दिन रेष्टुरेन्टको कमाइ सहित संकलित १८ सय एक पाउण्ड विपन्न परिवारलाई खाद्यान्न सहयोगमा खर्च गरेको एनआरएनए युकेका सल्लाकार तथा अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता धादिङ चैनपुका राजन खकुरेलले धादिङपोष्टलाई बताए ।
खरेलले यसअघि फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत् पनि सात सय ४३ पाउण्ड जुटाएका थिए। दुवै माध्यमबाट उनले कूल २५ सय ४४ पाउण्ड (करिब तीन लाख ७० हजार) उठाएका थिए।
सोही अवसरमा खरेलले आफ्नी छोरीको जन्मोत्सवको अवसर पारेर रु. ५० हजार रकम विद्यार्थीहरुलाई शैक्षिक सामग्री खरिदका लागि सहयोग गरेका छन् । जेहेन्दार तथा विपन्न २५ जना विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
