आज ९० थपिए, देशभर कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७७

काठमाडौं जेष्ठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा भएको परीक्षणमा आज ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा महोत्तरीका २ जना रहेका छन्। यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ ।

रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ । एक जना जनकपुर अस्पतालमा उपचाररत धुनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ वर्षीया बालिका पनि छन् । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ।

यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ११ हजार ६६, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६१, बागमती प्रदेशमा २४ हजार २ सय १६ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १६ हजार ८ सय ८०, कर्णाली प्रदेशमा १० हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ जनाको आरडिटी परीक्षण भएको छ ।

देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।