
स्वास्थ्यकर्मीहरुको आडिटी गर्ने भन्ने बित्तिकै बिहानै देखि मनमा कौतुहलता थियो । जे होस् मनमा एउटा बलियो तागत जम्मा भएको थियो ।
सँगै काम गर्ने इमर्जेन्सीका यतिका स्टाफ सधैं खाने बस्ने र हिड्ने सँग सँगै । उसो त कलका डाक्टरहरु पनि सङै । तै पनि आफुत सधैको रुघाखोकीको बिरामी उसमाथी इमर्जेन्सीको ड्युटी । नाक समाउदै बिरामी हेर्दै, यसरी त कति बिरामी हेरियो हेरियो । तर पनि मलाइ त यो कोरोना देखि कत्ती डर लाको छैन ।
एक त कोरोना पोजेटिभ भएको भए पनि त्यसले खासै असर गर्ला जस्तो लाग्दैन त्यसमा पनि आरडिटी पोजेटिभ मात्रका लागि केही डराउन पर्ने जस्तो पनि लागेन र मनमा केही कुरा पनि खेलेन ।
उसो त सङै बस्ने मेरि श्रीमतीको आरडिटी नेगेटिभ आएको थियो । तर एउटा डर नराम्रो सँग लागि रहेको थियो अब लगातार आफन्तबाट आएको फोन रिसिभ गरेर के भन्ने ? घरको बुढी आमै भेट्ने रहर र दाइको पनि घर आइदिए हुन्थ्यो भन्ने चाहनाका कारण अस्थी मात्र घर पुगि फर्केको थिए ।
मनमा धेरै कुरा खेलिरहेको थियो, घर जाँदा केहि भेट भएका आफन्त र मुख्यगरी धादिङ सम्म ल्याउन सहयोग गर्ने ईश्वर खकुराल र ज्वालामुखी गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र मास्कि सहितका साथीहरुको कौतुहलता कसरी मेटाउने ? अस्पतालको आरडिटी रिपोर्ट सार्वजनिक हुने बित्तिकैबाट आउन थालेको १०० भन्दा बढी कल उठाइन र यो आउने क्रम जारी थियो ।
यसैक्रममा मैले भेटेको राजेन्द्र जि सहित ३ जनालाई आफैले फोन गरेर आरडिटी पोजेटिभ भएको जानकारी गराए । किनकी म उहाँहरुको प्रत्यक्ष सम्पर्कमा थिए । त्यसैले जानकारी गराउनु आफ्नो नैतिक दायित्व सम्झेर कर्तव्य पूरा गरे जस्तो लाग्छ । ठिक भयो वा गलत त्यो तपशिलका कुरा होलान् ।
अब पर्यो संकट पिसिआर रिपोर्ट लगभग लागि ५ दिन पर्खन । म अस्पतालको सहमतिमा आफ्नै घरमा आइसोलेसनमा बस्न आएको थिए जहाँ सेप्रेट रुम, बाथरुम, खान बस्न सहज थियो । उता श्रीमतीलाई फोन उठाउनको भ्याइनभ्याई थियो म यता पट्टिको कोठाबाट सुनि राखेको थिए । यस बीचमा केही सत्य र केही झुट फोन मार्फत बोल्न बाध्य पर्यो र यतिबेला यस्तो आभास भयोकी म प्रहरीको मुख्य खोजी सुचिमा रहेको अपराधी हुँकी जस्तो ।
जेष्ठ ८ गते बिहानै उठे र दैनिक बिहान बेलुकी नुन पानीले नाक कुल्ला गर्ने कामलाई थाती राखी अघिल्लो दिनको सुचना अनुसार सिमसिम पानी परिरहेको अवस्थामा छाता ओडेर कृषि ज्ञान केन्द्रको भवन जुन आइसोलेसन र स्वाब क्लेक्सन बुथ रहेको ठाउँमा पुगे ।
स्वाब क्लेक्सन भैसके पश्चात् म पुनः घर तिर फर्के । बादल लागेको दिन फाट्टफुट्ट पानीका छिटा र सडकमा केही परिचित मानिसहरुका शसङ्कित आँखालाई ओझेल पार्दै घर भित्र छिरे ।
घरलाई सुरक्षित आइसोलेसनको रुपमा छनौट गरेर आएता पनि आखिर खाना देखि पानी सम्म मागेर खानुपर्ने अवस्था त छदै थियो, त्यसमा पनि जो मलाई खान पीनको व्यवस्था गर्ने श्रीमतीको पनि हेल्थ डेस्कमा ड्युटी जानु पर्ने थियो ।
अब पर्यो फसाद, ड्युटी जाउँ श्रीमानको आरडिटी पोजेटिभ आएको उनका स्टाफलाई जानकारी थियो र नजाउ ड्युटीमा आएन भन्ने होकि भन्ने पिर । एउटा बाटो रोज्नै पर्ने भयो भनेर ड्युटी स्टाफलाई फोन गरि म आउँ वा नआउँ भनेर सोध्नु पर्छ भनी सोध्यौ र उहाँहरुबाट पनि पीसिआरको रिपोर्ट नआउन्जेल बस्न अनुरोध भए सँगै उन र मलाई पनि सहज भयो ।
सोही समयमा सङै काम गर्ने साथिहरु कोहि ओटीमा सी/एस त कोहि इमर्जेन्सी ड्युटीमा हुनुहुन्थ्यो । म त स्वास्थ्यमा काम गर्ने व्यक्ति, म लाई आरडिटी पोजेटिभ तथा नेगेटिभ जे भए पनि व्यक्तिगत रुपमा कुनै डर चिन्ता तथा त्रास थिएन तर बिचरा मेरो साथी बिना कमजोरी म सँगको भेटका कारणले कति पिडामा छटपटाउनु भो होला र परिवारलाई पनि कति प्रेसर पर्यो होला म सोच्न सम्म सकि रहेको थिईन ।
हुनत मैले इमर्जेन्सीमा काम गर्दा गर्दैमा मेरो ३ हजार भन्दा बढी मानिसहरु सङ प्रत्यक्ष भेट भैसकेको थियो र पनि चिन्ता साथिको मात्र किन ? आजको दिन पनि फोन र साथि लाई सिरानिमा राखेर बसे तर छटपटी अस्पताल जान नपाएकोमा अलि धेरै नै भयो ।
कोभिड-१९ भाइरल रोग जुन माहामारीको रुपमा आउदै छ, भन्ने जान्दा जान्दै पनि अस्पतालमा केही सावधानीहरु अवश्य पनि अपनाउन नसकिएको कुरा जानाकारी गराउन मन लाग्यो ।
१. म आफै दिर्घ रुघाखोकीको बिरामी भएका कारण धेरै जसो नाक समाई बस्नु पर्ने भएकोले कोभिड १९ को उच्च जोखिममा छु । जुन कुरा मैले माथी उल्लेख गरिसकेको छु । सायद मेरा विषयमा भन्दा पनि यस्ता समस्या भएका स्वास्थ्यकर्मीका विषयमा केही सोच्नु पर्ने थियो कि ?
२. अस्पतालमा अरु बेलाको जस्तो सामन्य अवस्था ठानी बिरामी र तिनका कुरुवा ह्वार ह्वार्ती असावधानी पुर्वक छिर्नु ।
३. यस्तो असामान्य अवस्थामा भिडभिड नियन्त्रणका लागि प्रसाशनबाट उपयुक्त पहल नहुनु ।
४. अस्पतालमा संचालन गर्दै आएको फिभर क्लिनिक १०-५ बजे सम्म सन्चालन हुने हुँदा अन्य समयमा आउने ज्वरोका बिरामीहरु इमर्जेन्सीबाट नै हेर्न बाध्य हुनु ।
५. फिभर क्लिनिकका लागि २४ सै घन्टा छुट्टै जनशक्तीको व्यवस्थापन गरि त्यस्ता जनशक्तिलाई अन्य सेवामा आबद्ध नगराउनु पर्नेमा सो हुन नसक्नु ।
६. यस जोखिम घडीमा कार्यरत कर्मचारी लाई छुट्टै आवासको व्यवस्था गरि स्वयं स्वास्थ्यकर्मीका परिवार र बिरामिलाई सुरक्षाको प्रत्याभुत गराउन नसक्नु ।
७. संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न श्रोत र आन्तरिक श्रोतबाट प्राप्त सामाग्रीहरुको यथोचित वितरण गर्न नसक्नु ।
८. अस्पतालमा कार्यरत कर्मचारीलाई खट्न सक्ने समय सम्म काममा लगाउने र तत पश्चात् आरडिटी गरि केहि दिनका लागि बिदामा छाड्ने योजना सहित कार्यान्वयन गर्न नसक्नु ।
९. अस्पतालमा कार्यरत कर्मचारीहरुको आरडिटी तथा त्यस समन्धी सुचनाहरु पीसीआरको रिपोर्ट नआउन्जेल सम्बन्धित कर्मचारीलाई जानाकारी गराई आइसोलेशनमा राख्ने व्यवस्था मिलाइ पीसीआर रिपोर्ट आए पश्चात् मात्र सार्वजनिक गर्दा अस्पताल तथा कर्मचारीलाई हित हिने देख्दछु ।
१०. पीसीआर नेगेटिभ आओस् वा पोजेटिभ जे होस् हामी कोभिड देखि भागेर हिड्ने पेशामा छैनौ र त सकेसम्म सावधानी पुर्वक सेवामा तल्लिन छौ ।
मैले यी कुरा लेख्दै गर्दा खाली दिमागले होईन मलाई प्राप्त फोन र सडकबाट बन्द कोठा भित्र सुनिएको आवाजलाई प्रतिबिम्बित गरेको हुँ ।
कुरा चैत १५ को हो, शान्ती नेपाल सङ अनुरोध गरि इमर्जेन्सीमा हामीले लगाएको पीपीईका कारण अस्पताल विकास समितिका अध्यक्षले हामी कर्मचारिलाई ३ घन्टा घाममा उभ्याउछु भनी फौजी शैलिमा अत्याउने काम भयो । यसो गरेकोमा अब अस्पतालमा आएका सबै सामाग्री आफू खुशी गर्न वा हजुर आफै लगाउन म सन्कास्पद बिरामिको तर्फबाट तपालाई विनम्र अनुरोध गर्दछु ।
अस्पतालमा राम्रा पक्ष पनि धेरै छन्
आइसोलेशन, फिभर क्लिनिक सन्चालन, इमर्जेन्सी सेवा, सीएस, प्रसुती सेवा, उच्च जोखिमको अवस्थामा पनि ओपिडी सेवा, बिरामी भर्ना, एम्बुलेन्स सेवा, डेन्टल सेवा, फार्मेसी सेवा, इसिजी सेवा, फिजियोथेरापी, एक्सरे जस्ता सेवा निरन्तर सन्चालनमा छन् ।
के कुरामा चुकिरहेको छ अस्पताल ?
अस्पतालको हरेक कृयाकलापमा सम्भव भए सम्म सबै स्टाफहरुको उपस्थिती र सहभागिता गराउनु पर्छ । जस कारण कर्मचारीलाई अपनत्व र जिम्मेवारीको महशुस होस् ।
सहज अवस्थामा त २,४ जनाको सहमती बिना एक्लै केही गर्न सकिदैन भने यत्रो माहामारि सँग जुध्न त अवश्य पनि अग्रपंतीमा बसेर काम गर्ने कर्मचारीहरु सँग छलफल र योजना बनाउन सहभगी गराउनु पर्ने हो ।
मलाइ अहिले यति मात्र भन्न मन लाग्योकि हामीले विगतमा पटक पटक माग गरेका अस्पतालका कार्यक्रम, बजेट र त्यस्ता कार्यक्रम सन्चालन प्रक्रियामा छलफल तथा आवस्यकता पहिचान जस्ता विषयमा उपस्थिती गराउन नसक्ने यस्तो परिपाटीको विकास भएको स्थानमा छलफल तथा निर्णयमा सहभागिताको त के कुरा ? हामी सरुवा रोगको carrier वा सो रोगको शिकार हुनुको विकल्प छैन । तर हामी त अडिग भएर ड्युटीमा बसेकै छौ, एन-९५ मास्कलाई ७ पटक धोएर तथा कपडाको मास्क लगाएर ।
अतः अस्पताल सुधारका साथै कोभिडको रोकथाम तथा उपचारका लागि समयमा नै साझेदारी, सामुहिक छलफल, जिम्मेवारी बाडफाड, आवश्यक सामुहिक संस्थागत निर्णय र कार्यान्वयनमा जोड दियौं । कोरोना भाईरसको संक्रमण हुनबाट बचौं र बचाऔं । धन्यावाद । (लेखक धादिङ अस्पतालका स्वास्थ्यकर्मी हुन् ।)

