
दिपेश कंडेल,
धादिङ जेष्ठ १० । कोराना भाईरस (कोभिड १९) को रोकथामको लागि सरकारले गरेको जारी लकडाउनका कारण दैनिक जन जीवन कष्टकर बन्दै गरेको अवस्थामा धादिङ बेनीघाट रोराङ गाउँपालिका बेनीघाट बजारका तीन जना घरबेटीहरुले घरभडा नलिने घोषणा गरेका छन् ।
बेनीघाट बजारमा घरको ६ कोठा भाडामा दिएका एकराज ढकाल, ६ कोठा भाडामा दिएका केशब ढकाल र सत्यधर कडेलले चैत्र महिनाको भाडा नलिने बताएका हुन् ।
सरकारले चैत्र महिनाको भाडा नलिन गरेको आव्हान गरे पनि कता कतै घरबेटीले भाडा नलिने घोषणा गरे पनि अधिकाँश घरबेटीहरु भाडा छुट गर्ने पक्षमा छैनन् ।
सरकारले चैत्र महिनाको भाडा छुट गर्न आव्हान गरे सँगै खुसी भएका डेरावालहरु घरघाडा छुट नहुँदा निराश बनि रहेको छन् ।
लकडाउनका कारण पेसा रोजगारीहरु सबै रोकिएका छन् । यो अवस्थामा चैत्र महिनाको भाडा छुट हुने भन्ने आसा राखेका थियौं तर घरबेटीहरुले यस विषयमा गम्भीरता नै प्रकट गरेका धादिङबेसीमा डेरी गरी बस्ने कमल चिमोरिया बताउँछन् ।
यस्ता पनि छन् घर धनी
धादिङ नलिकण्ठ नगरपालिकाका खाल्टे निवासी युवराज खतिवडा पोखरामा बस्छन् । पोखरामा उनले भाडामा लिई सस्तो बजार संचालनमा ल्याएका छन् । उक्त सस्तो बजारबाट आउने सटर भाडा एक महिनाको ६० लाख नलिने घोषणा गरेका छन् ।

यी नै खतिवडाले पछिल्लो पटक एक महिलालाई घर बेटीले घरभडा नदिएको भन्दै अमानविय व्यवहार गरे सँगै उद्दार गरि दिएका छन् ।
घरभडा नदिएको भन्दै घरवेटीले कोठाको पानी र ट्वाइलेटको ढोका बन्द गरिदिए । यता, लकडाउनको कारण निर्माण कार्य ठप्प हुँदा उनको श्रीमान् दुई महिनादेखि घरमै थन्किएर बसेका छन् । ‘घरवेटीले ट्वाइलेटमा ताला लगाए, धारामा पानी बन्द गरे । छिमेकीलाई हामीले आफ्नो दुःख सुनायौँ । त्यसपछि त हामीलाई झन् बढी तनाव हुन थाल्यो । भाडा तिर्नका लागि तारन्तार दवाव आउन थाल्यो । भर्खर जन्मिएको बच्चालाई कति स्याहारसुरार चाहिन्छ । यही बेला ट्वाइलेट र पानी बन्द गर्दिए,’ आँखाभरी आँशु पार्दै लिम्बुले बताइन् ।
सामाजिक सञ्जालमा युवा व्यवसायी युवराज खतिवडाले घरबेटीले दुःख दिएर निकालेकाहरुलाई खाना बस्नको व्यवस्था गर्ने भन्ने थाह पाएपछि उनीहरु अहिले पर्स्याङ पुगेका छन् ।
युवा व्यवसायी खतिवडाले व्यवसायिक प्रायोजनको लागि बनाएको सय कोठालाई लकडाउन अवधिभर समस्यामा पारेका र घरवेटीले निकालेका सय परिवारलाई राख्ने घोषणा गरेका छन् । उनले काम गर्न चाहनेलाई काम पनि दिने र सीप नभएकाहरुको लागि आँफैले खाना, बस्न र उपचारको व्यवस्था गरेको बताए ।
‘मानिसहरु कति क्रुर र अपराधी रहेका रहेछन् बल्ल थाह पाउँदैछु । घरवेटीले निकाली दिएपछि उनीहरुकै घर गएर कतिको भाडा पनि तिरिदिएर उद्दार गरेर ल्याएर राखेको छु । अहिलेसम्म तीस परिवार आइसकेका छन् । हामीसँग सय परिवार राख्ने क्षमता छ,’ उनले भने ।
विष्णुमाया विकको पनि समस्या उस्तै थियो । ‘फागुनभरी बिरामी भएर काम गर्न सकिएन । चैतमा दुई दिन काम गरेको हो । त्यो दुईदिनको पैसाले कसरी जीन्दगी चलाउन सकिन्छ र सर रु,’ उनले भनिन्, ‘राहत भनेर आठ केजी चामल,आधा लिटर तेल र एक पोका नुन आएको थियो । त्यतिले कति समय पुग्छ र रु एक महिना त यताउता गरेर चलाए । त्यहाँमाथी झन घरवेटीले दैनिक भाडाको लागी दबाब दिन थाले ।’
‘समाचारमा युवराज सरले खर्च नभएर घरबाट निकाला गरिएकोलाई खाना बस्न दिने खवर पाएर यहाँ आएका हौँ । अव घरवेटीले फेरी अर्को बखेडा झिकेको छ । भाडा नभइकन सामान लैजान पाउँदैन भन्छन् । दुई महिनाको पचपन्न सय पैसा तिर्न छ । त्यो पनि युवराजसले तिर्दिने भन्नुभएको छ,’ विकले बताइन् ।
उदयपुरबाट पोखरा सिदार्थचोकको एक कन्सल्टेन्सीको होस्टलको किचनमा काम गर्दै आएकी मनिषा स्नेहको पनि कामबाट निकालेपछि हालत उस्तै छ । होस्टलमा नै बस्दै आएकी मनिषालाई अब सकिने भएन भनेर निकालिदिए । पोखरामा उनले चिनेजानेको मान्छे कम थिए । त्यसपछि उनलाई बाँच्नु न मर्नुको अवस्था सिर्जना भयो । सामाजिक संजालबाट सूचना थाह पाएपछि उनी पनि खतिवडाले स्थापना गरेको आश्रयस्थलमा बस्दै आएकी छिन् ।
खतिवडा भन्छन्, ‘पोखरा वरीपरि कसैलाई घरवेटीले निकालेर बिचल्ली भएको छ भने ९८५६०२९११३ मा सम्पर्क गर्न सक्नु हुनेछ । यो वेला सक्नेहरुले नसक्नेहरुलाई सहयोग गरौँ । सहयोग गर्न सकिएन भने पनि दुःख दिने काम नगरौँ ।
