एउटै वाक्य, मदन आश्रित हत्याको छानबिन हुन्छ

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७७

२०५० साल जेठ ३ गते त्रिभुवन विश्वविद्यालय कान्ति छात्रावासको हलमा हामी विद्यार्थीहरु नेपाल टेलिभिजनको समाचार हेर्दै थियौँ । त्यतिबेला एउटा दु:खद्, अनपेक्षित र हृदयविदारक समाचार आयो ।

मदन भण्डारी र जीवराज आश्रित चढेर पोखराबाट नारायणगढ जाँदै गरेको जीप चितवनको दास ढुंगा नजिकै नारायणी नदिमा खस्यो, नेता द्वयको अवस्था अज्ञात, चालक अमर लामा सकुशल, नेताद्वय जीवीत भेटिने सम्भावना अत्यन्तै क्षीण ।

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो । वहाँ माथि आरोप लगाउँदै सडक तताउने काम भयो । उतिबेलाका एमाले नेताहरु मनमोहन अधिकारी, सहाना प्रधान र केही बाहेक अन्य नेताहरूले अलिकति अल्लारे व्यवहार देखाए ।

मनमोहन जी, अध्यक्ष भएपनि अरु नेताहरूका अगाडि धेरै बोल्न सक्दैन थिए । एमालेका नेताहरु विस्तारै गलत आरोप प्रति लज्जित हुँदै गए ।

एमाले पार्टीले हालका प्रधानमन्त्री के पी शर्मा ओली जी (उतिबेला खड्ग ओली नाम बढी प्रचलित) को अध्यक्षतामा एक सदस्यीय छानबिन समिति बनायो । यसको एमाले पार्टी भित्रको अन्तर्य के हुन सक्थ्यो भने अरु देशहरूका कम्युनिस्ट पार्टीहरुका आन्तरिक संघर्षमा एक नेताले अर्को नेताको हत्या गरेका थुप्रै घटनाहरु भएकाले आफुहरुलाई यस घटनामा आरोपित गर्ने प्रयास नहोस् भन्ने पनि थियो होला ।

मदन भण्डारीको श्रीमती विद्या भण्डारीको सबैभन्दा राजनीतिक रुपमा निकट नेता ओली जीलाई यसको एकल जिम्मेवारी दिएपछि घटनाको छानबिन उनका परिवारजनका लागि पनि निकै विश्वासिलो रहने र ओली जीको क्षमता पनि हेर्न पाईने परिस्थिति पनि भयो ।

ओली जीले घटनाको छानबिन गर्ने प्रयास कति गरे त्यो हामीले जान्ने कुरा भएन । वहाँले कुनै प्रतिवेदन पार्टी समक्ष पेश गर्नुभएको समाचार अहिलेसम्म सुन्न र देख्न पाईएको छै । विद्या भण्डारी अहिले राष्ट्रपति पदमा विराजमान हुनुहुन्छ ।

ओली जी बाहेक अरु कुनै वहाँका दौतरी नेताहरु मध्ये कोही कसैलाई यो जिम्मेवारी दिईएको थियो र छानबिन प्रतिवेदन पेश नगरिएको अवस्था थियो भने ती नेताको हालत के हुने थियो होला अनुमान गर्न गाह्रो छ ।

उतिबेला एमालेका नेताहरूले यो जिम्मेवारी ओली जीलाई दिनु भने उनिहरुबाट आ-आफ्ना लागि निकै बुद्धिमत्ता काम भएको मेरो ठहर छ । दुर्घटना उप्रान्त बर्सेनि हुने मदन आश्रित स्मृति दिवसमा यो महादुर्घटनाको छानबिन गर्ने प्रतिवद्धता जाहेर हुने गर्छ । सहभागी कार्यकर्ताहरुले ताली पनि बजाउँछन् । तर पनि प्रतिबद्धताको पुनरावृत्ति भई रहन्छ ।

ई सं २००३ को जुलाई तिर अन्तर्राष्ट्रिय समाजवादी युवा संघको कार्यक्रम IUSY Festival मा सहभागी हुन म लगायतका साथीहरू ग्रिसको एथेन्समा थियौं । त्यतिबेला एउटा समाचार आयो । मदन भण्डारीका चालक अमर लामाको हत्या भयो । हत्याको जिम्मेवारी तत्कालीन विद्रोही नेकपा माओवादीले लिएछ ।

मदन भण्डारी आश्रित दुर्घटनाका मुख्य पात्र अमर लामाको हत्या किन भयो ? त्यो पनि मदन भण्डारीको दल भन्दा अलग धारको विद्रोही कम्युनिस्ट पार्टीले किन गर्यो हत्या ? यसबाट छानबिनका लागि प्रमाण नष्ट गरिने काम भयो कि भएन ?

अहिले उक्त विद्रोही दल समेत नेकपा एमाले संग एकीकृत भएको छ । तत्कालीन छानबिन समितिका एकल अधिकारी के पी ओली ज्यू प्रधानमन्त्री र नेकपाको अध्यक्ष हुनुहुन्छ । अमर लामाको हत्याको जिम्मेवारी लिने दलका अध्यक्ष सोही एकीकृत दलको अर्का अध्यक्ष हुनुहुन्छ ।
मदन भण्डारीका विधवा राष्ट्रपति हुनुहुन्छ । मदन आश्रित स्मृति दिवसमा यस वर्ष पनि दुर्घटनाको छानबिन गरि छाड्ने प्रतिवद्धता भएको छ रे ।

अहिले जस्तो त्रिसंयोग कहिले मिल्छ ? (विद्या, ओली, प्रचण्ड सर्व शक्तिमान्) सँधै आफ्ना कार्यकर्ता र नेपाली जनतालाई किन गुमराहमा रखिन्छ कि हत्या कसले गर्यो गरायो ?
छानबिन किन भएन ? छानबिन गर्न नसक्ने हो भने वर्षको एक चोटी यो प्रतिवद्धता किन दोहोर्याई रहने ? यो आश्वासन पत्याउने जनहरु पनि अझै छन् होला मुलुकमा ।

मेरो नेकपाका नेता गणमा यो विनम्र अनुरोध छ कि, अब उप्रान्त कि त निष्पक्ष छानबिन गरेर देखाउनु पर्यो वा यस्ता वाणीहरु बन्द गर्नु पर्यो । किनकी राजनीतिक नेताहरु विश्वसनीय र पारदर्शी हुनुपर्छ । नेताहरुका यस्ता वाणी र शब्दजालहरुले राजनीति र राजनीतिज्ञको साख गिर्दै जान्छ ।

आफ्नो साख आफै गिराउनु उपयुक्त हुँदैन । एउटा राजनीतिक कार्यकर्ता भएको नाताले यो सुझाव पेश गरेको हुँ । “नेताद्वयमा भावपूर्ण श्रद्धाञ्जली ! “

(लेखक रुवाली नेपाली काँग्रेस धादिङ नेता हुन् ।)

x