धादिङबेसीको सडकमा देखिने यी महिलालाई उद्दार गरियो

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७७

धादिङबेसी जेष्ठ २ । धादिङबेसी सदरमुकामको सडकमा विगत दुई महिना देखि ओहोर दोहोर गरि रहने यी महिला (तस्वीरमा देखाईएको) लाई उद्दार गरि उपचारको लागि लगिएको छ ।

महिला अधिकारको क्षेत्रमा काम गरि रहेको सहयात्री समाज नेपाल धादिङको समन्वय, जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा ति महिलालाई उद्दार गरि चितवन स्थित मानव सेवा आश्रममा लगिएको हो ।

अन्दाजी ३० वर्षिय जस्तो देखिने परिचय समेत खुल्न नसकेको ति महिला राम्रो बोल्न नसक्ने तर हिन्दी भाषामा गरिएको कुरा चाहि बुझ्ने स्वभावकी थिईन् ।

यस अभियानमा सहयात्री समाजलाई प्रहरी र प्रदेश सडक मानव मुक्त कार्यक्रमकी सर्मिला भट्टले चितवनको मानव सेवा सम्म पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको राधिका सापकोटाले बताउनु भयो ।

अन्यायमा परेका महिलाहरुको लागि सहयोग गर्दै आएको सहयात्री समाज नेपाल धादिङले विगतमा पनि सडकमा देखिने मानसिक सन्तुलन ठिक नभएका महिलाहरुलाई उद्दार गरि विभिन्न सेवा आश्रमहरुमा पुर्याउने काम गर्दै आएको छ । भने समाज हिंसामा परेका महिलाहरुलाई संस्थामा नै आवास सुविधा दिएर उनीहरुको पक्षमा कानुनी रुपमा लड्दै आई रहेको छ ।

विगत दुई वर्षदेखि चितवनमा रहेको मानवसेवा आश्रमले सडकमा रहेका बालबालिका, युवा तथा वृद्धहरुलाई आश्रममा राखेर सेवा दिदै आएको छ ।

सडकमा भौतारिएर रहेका व्यक्तिहरुलाई आश्रममा ल्याएर उद्धार गर्ने काममा यस आश्रमान ११ जना अभियान्ताहरु संलग्न छन् ।

x