धादिङबेसीमा शिक्षिकाद्वारा आत्महत्या

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७७

धादिङ जेष्ठ १ । धादिङको रुवीभ्याली गाउँपालिका स्थित दोङदेङ माध्यमिक विद्यालय पढाउने शिक्षिका चाँदनी तामाङले आत्महत्या गरेकी छिन् ।

३० वर्षीया शिक्षिका तामाङले धादिङबेसी सदरमुकाम स्थित निर्माणाधिन घरमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमान् विजय तामाङले विगत ४ वर्षदेखि मलेसियामा रहेर पठाएको रकमले नीलकण्ठ नगरपालिका–४ स्थित अल्छीडाँडामा घर निर्माण गर्न उनी सदरमुकाममै थिइन् ।

आत्महत्याको कारण खुल्न नसके पनि आत्महत्या गर्नु पूर्व लेखेको पत्रमा छोरालाई राम्रोसँग लालनपालन गरी दिन आफन्तजनहरुसँग आग्रह गरेको जिल्ला प्रहरी प्रवक्ता रुपक खड्काले बताए ।

उनको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखेर आफन्तहरुलाई बोलाएको प्रहरीले जनाएको छ ।

मान्छेहरु किन गर्दछनु, आत्महत्या ?

सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।

रोकथाम

आमहत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकाले आत्महत्याको रोकथाम त्यत्ति सरल छैन । तर, बृहत् प्रयासको थालनी भएमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । विकसित देशहरूमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयासहरू भएका छन् । यस्ता संस्थाहरूले आत्महत्या गर्न खोज्ने व्यक्तिहरूलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् ।

नेपालमा भने यस किसिमका संघसंस्थाहरू छैनन् भने पनि हुन्छ । भएका एकाध यस्ता संस्थाहरू पनि प्रभावकारी हुन सकेका छैनन् ।

x