
खै कहाँ वाट सुरु गरौं, मनभित्रका भावनाहरु छताछुल्ल हुन्छन् । हृदय भित्र बेदनाका छालहरु मडारिन्छन् र मन वेगवान गतिमा सुईकिदै पुग्छन्, युद्धको महासमरमा ।
वर्ग संघर्षको मोर्चामा अनुभुति गरिएका थुप्रै सुखद अविस्मरणिय क्षणहरु तारुका देखि दार्खा रेड हुँदै पश्चिम रोल्पा रुकुमका आधार ईलाका र गण्डकको लम्बे मार्चपासहरुका एक एक फोटोको पत्रझै पल्टिदै जान्छन् अनि अर्को पाटोमा सुरु हुन्छ मन नै कटक्क पार्ने पिडादायी क्षणहरु ।
हजारौं त्यस्ता घटनाहरु छन्, जसले मनभित्रका पिडाहरुलाई आक्रोसमा बदलेर वर्ग वैरी विरुद्ध प्रहार गरिएको छ । आज नयाँ प्रकारले नेपाली क्रान्तिको कार्यदिशालाई अगाडी बढाउने भनिएको त छ, तर बाटो हराएका यात्री झै भएका छौ हामी ।
हिजो एक कासनमा मृत्यु वरण गर्न तछाड् मछाड् गर्ने क्रान्तिकारी योद्धाहरु आज कुहिरोको काग झै किन रुमल्लि रहेको छ । सुनौलो समाजको सपना देखेर मृत्यु संग पौठेजोरी खेल्नेहरु नै आज किन अरवको खाडीमा हराईरहेका छन् ।
हाम्रो सपना नयाँ जनवादी व्यवस्था हुँदै समाजवाद र साम्यवाद, के अब सुदुर भविष्यको विषय बनेको त होईन रु पार्टी आज सर्वहारा वर्गको अग्रदस्ताको रुपमा नरहेर चौतारोको रुपमा विकास भएको छ । जसलाई जे मनलाग्यो त्यही गर्ने । यदि अब पनि हामीले पार्टीलाई नयाँ जिवन दिएर अगाडी बढ्न सकेनौ भने ति हिजोका बलिदानहरु खेर नजालान भन्न सकिन्न ।
त्यसैले अब पार्टीलाई पुर्नजिवन दिने हो, भने बदलिएको विश्व परिस्थितिमा क्रान्तिको सफलताको लागी विचार धारात्मक रुपमा थप विकास सहित विश्वको असफल क्रान्तीहरु र सफल भएर पनि सत्ता पाई सकेपछि प्रतिक्रान्तीमा पुगेका देशहरुवाट शिक्षा लिदै नयाँ कार्यदिशा को विकास गर्दै हिजोका ति विरता र वलिदानका अदम्य किर्तिमानहरुलाई मनमनमा सजाउन जरुरी छ जहाँ हजारौ हजार विर विराङगनाहरुको अमुल्य रगतले हाम्रो पार्टी ईतिहाँस रक्त रञ्जीत छ ।
तिनै सहिदहरुले देखाएको वाटोमा अगाडी वढ्न जरुरी छ ।
यिनै घटनाहरुको बीचमा नेपालको कम्युनिष्ट आन्दोलनको ईतिहासमा एउटा फरक प्रकारको साहस र बलिदानको किर्तिमान जो इतिहासमा सदैव नमेटिने शुनौलो अक्षरमा अंकित छ । हो तिनै महान शहिदहरु मध्येका एक अनिल अधिकारी (प्रदुन) संग गरिएको सहकार्य, उहाँको सहादतको पिडादायी क्षण र वलिदानकोे गौरवपुर्ण गाथाहरुलाई आफ्नो आखाँले जस्तो देख्यो त्यस्तै यो सस्मरणमा उतार्ने प्रयत्न गरिएको छ ।

२०५६ फागुनबाट मेरो कार्यक्षेत्र रसुवा–नुवाकोटबाट नुवाकोट–धादिङ जिल्लामा हुन्छ । म पार्टीले दिएको जिम्मेवारी पुरा गर्न धादिङ तिर लागे त्यहाँ मलाई धादिङको धुवाकोट, खाल्टे, नीलकण्ठ, साङकोष, कटुन्जे र सेमजोङ गाविस तथा नुवाकोटको ७ गाविसको जिम्मा आउँछ ।
म नयाँ भुगोलमा त्यो पनि सदरमुकाम क्षेत्र भएकोले केही अप्ठ्यारो र असहज महसुस गर्दै धादिङको धुवाकोटमा पुग्छु । त्यहाँ केही दिन बसेपछि निलकण्ठ गाविसमा जाने योजना वनाई सिम्ले हुदै वसाहा तिर लागीयो त्यही पहिलो पटक रामचन्द सामरीको घरमा मेरो अनिल अधिकारी कमरेड प्रदुन संग भेट भयो ।
महान् शहिद कमरेड शेर्पा दाई हिरा बहादुर बस्नेतको पहल कदमीमा पार्टी आन्दोलनमा कृयाशिल योद्धा हुन अनिल अधिकारी कमरेड प्रदुन, उहाँ हिरा बहादुर दाईको दिदीको छोरा हुनुहुँदो रहेछ ।
२०५७ मंसिर १ गते पार्टी कामले जाँदा मैले पहिलो पटक उहाँलाई भेटेको थिए । उहाँ बहुत ईमान्दार र असाध्यै बाठो र मिठासपुर्ण स्वभाव भएको योद्धा हुनुहुँदो रहेछ । केही समयमै उहाँ पार्टीका नेता कार्यकर्ताको प्यारो भै सक्नु भएको थियो ।
कलेज पढ्दा पढ्दैको छोरो माओवादीमा पुर्णकालिन बनेपछि उहाँको घरमा सम्झाउन जानुपर्ने भयो किनकी बुबाले असाध्यै पीर मान्नुभएको थियो । पहिलो पटक म उहाँको घर नुवाकोट तारुकाको त्यो फाँटको बीचको एक्लो घरमा सेर्पा दाई संगै गएको थिए । त्यतिखेर मैले थाहा पाए उहाँको दाजु शंकर अधिकारी त म संगै नुवाकोट क्याम्पसमा पढेका रहेछौ । र पार्टी प्रति अत्यन्त ईमान्दार कार्यकर्ता हुनुहुँदो रहेछ ।
अनिल अधिकारी (प्रदुन) पार्टीले दिएको हरेक काम पुरा गर्न हर हालतमा लागी पर्ने ईमान्दार र कर्तव्यनिष्ठ कार्यकर्ता बन्नुभयो । पार्टीमा हिडेको केही समयपछि नै उहाँ फौजी संगठनमा आवद्ध हुँदै युद्धको मोर्चामा सहभागी हुनुभयो ।
उहाँ ईलाका स्तरिय स्क्वायडमा काम गरिरहेको अवस्थामा हो २०५७ फागुन १९ गते धादिङको धुवाकोटमा सहिद गेट निर्माणको क्रममा म गंभिर घाईते हुनपुगे स्थानीय स्वास्थ्यकर्मीले मलाई काठमाण्डौ रिफर गर्नुभयो । धादिङवेसिबाट रेडक्रसको एम्वुलेन्स लिन ईश्वर श्रेष्ठ जी जानुभयो र मलाई गल्छी सम्म वोकेर ल्याउन भन्नुभयो ।
लामो बाटो सुरक्षित थियो, तर म बीचमै मर्न सक्थे छोटो बाटो बीचमा तारुका प्रहरी चौकी पथ्र्यो गिरफ्तारीमा पर्न सक्थे त्यतिखेर कमरेड प्रदुनले हिम्मत गरेर छोटो बाटोबाट मलाई लैजानु भयो ।
तारुका प्रहरी चौकीका प्रहरीहरुले सोधखोज गरे उहाँले घाँस काट्न जाँदा रुखबाट खसेको भन्नु भयो । प्रहरीहरु मेरो मुखमा बत्ति बाल्दै थिए, उहाँले विरामीलाई अप्ठ्यारो भयो आँखामा बत्ती नबाल्नुस न भन्दै अगाडी लिएर जानुभयो । यसरी उहाँ जोखीम मोल्न तयार हुनुभएको कारण म समयमै अस्पताल पुगे र मेरो ज्यान बाँच्यो ।
कमरेड प्रदुन र म त यति नजिक भएछौ कि, पार्टीले घर बिदा दिएको बेला पनि उहाँ आफ्नो घर नगई मेरो घर रसुवा आउनु हुन्थ्यो । हामी सँग संगै नुवाकोट र धादिङका बस्तीहरुमा पुग्यौ र पार्टीका कामहरुमा सहभागी बन्यौ ।
यसरी दिन बित्दै थिए, त्यही क्रममा पार्टीको आवस्यकता अनुसार उहाँ जनमुक्ति सेनामा सहभागी हुनुभयो र गण्डक क्षेत्रमा सक्रिय रहन थाल्नु भयो । त्यसपछि हाम्रा भेटहरहरु पातलिए केन्द्रीकरणको कार्यक्रममा हामी गण्डक जाँदा भेट हुन्थ्यो । उहाँले थुप्रै फौजी कारवाहीहरुमा भाग लिनु भयो ।
नुवाकोटको तारुका, धादिङको दार्खा गोरखाको वारपाक स्याङजाको सदरमुकाम लगायतका सफल फौजी कारवाहीमा सहभागी हुदै उहाँले आफुलाई अब्बल क्रान्तिकारी सावित गर्नु भएको थियो । त्यतिखेर गण्डकमा एउटा कम्पनी कार्यरत थियो, सो कम्पनिको एउटा प्लाटुनको सहायक कमाण्डर भै सक्नु भएको थियो ।
२०५९ जेठ १ गते गुल्मीको घमिर जहाँ जनमुक्ति सेनाको टोली थियो । दुश्मन आएको छ, भन्ने हल्ला चल्यो । त्यतिखेर त्याहाँ बाटो खन्ने काम भई रहेको थियो । कमरेड प्रदुन र अर्को एक जना बहिनी बिना विक परिस्थिति वुझ्न भनेर जानुभयो ।
बाटो खन्ने मान्छेहरुको भिडमा उहाँहरुले सेना मिसीएको थाहै पाउनु भएन र सेनाले उहाँहरुलाई गिरफ्तार ग¥यो । तर उहाँहरुले दुश्मन सामु झुक्नु भएन । यातनाले गलाउन नसकेपछि गोली हानी उहाँहरुको हत्या गरियो र नजीकैको बाँसको झाङनेर गाडीयो ।
कयौं लडाईको मोर्चा जितेका धादिङ खाल्टेका प्रदुनलाई जनताले बाटो खनि रहेको ठाउँमा मिसिएको सेनाका गुप्तचरहरुले गरिफ्तार गर्दै जेष्ठ १ गते हत्या गर्यो ।
यसरी देश र जनताको मुक्तिको यात्रामा लामवद्ध एक होनहार योद्धाको रगतले गुल्मीको घमिर भिज्यो । वावु आमाले आफ्नो मुटुको टुक्रा गुमाए परिवार जनले आफ्नो आफन्त गुमाए । साथीहरुले एक असल साथी गुमायौ र देशले एक होनहार युवा गुमायो ।
२०६० सालको कार्तिकमा म रोल्पा जाने क्रममा घमिरमा पुगे मलाई अनिलको त्यो अनुहार झल्झली याद आयो मैले स्थानीय जनताहरुलाई उहाँको सहादत भएको ठाउ कहाँ हो भनेर सोधे । उहाँहरुले देखाई दिनुभयो । त्यो बाँसको झाङको डिलमा उभिएर मैले उहाँ सँगका सहयात्राका दिनहरु संझिए ।
त्यो हँसिलो चेहरा सधै केहि गरौं भन्ने उत्सुकता । साथीहरुको लागी जे गर्न पनि तयार हुने भावना । म निकै भावुक बनेर बस्दै थिए म संगै जानु भएका कमरेड अमर सिँहले मलाई सम्झाउनु भयो । हामी लामो यात्रामा थियौ । उहाँ प्रति भावपुर्ण श्रद्धान्जी दिदै त्याँहाबाट अगाडी वढ्यौ ।
यतिखेर म सोचि रहेछु कमरेड प्रदुन जस्तै हजारौ योद्धाहरुको वलिदानबाट प्राप्त गणतन्त्रको उपभोग हामीलाई अपराधी करार गर्नेहरुले गरिरहेका छन् । हाम्रो आसु रगत पसिना माथी मोज गर्ने र हामी र हाम्रो नेतृत्वलाई आक्रमण गर्ने छुट तिनीहरुलाई छैन ।
हाम्रो नेतृत्वलाई आलोचना गर्ने छुट तिनीहरुलाई छ । जसको आफन्तले रगत बगाएका छन् । जसले घाईते शरिर लिएर बाँँचि रहेका छन् । र जसले त्याग तपस्या र योगदान गरेका छन् ।
हिजो जनयुद्धको सुरु गर्ने बेलाका हाम्रा प्रतिवद्धताहरु मध्ये एउटा प्रतिवद्धता थियो जनयुद्धलाई अन्त सम्म लैजाने प्रतिवद्धता बिना युद्ध सुरु गरेर बीचैमा छोड्ने छुट कसैलाई छैन । यदि त्यसो गरिएमा त्यो आम जनता कार्यकर्ता प्रतिको अपराध हुनेछ । तर हामी बीचैमा जनयुद्ध छोडेर फर्कियौ ।
हामीले त्यसो नगरेको भए पेरु फिलिपिन्स वा लिट्टे हुने सम्भावना धेरै थियो । अब हामीले जति उपलव्धी प्राप्त गरेका छौ, त्यसबाट माथी उठेर त्यसको अधिकतम प्रयोग गरेर समाजवादको यात्रा तय गर्नुछ । त्यसबाट मात्रै कमरेड प्रदुन लगायतका सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
तर, माक्र्सले पेरिस कम्युनको असफलता पछि कम्युनिष्ट घोषणापत्रको जर्मन संस्करणको भुमिकामा लेख्नुभएको छ । प्रतिकृयावादीहरुको बनिबनाउ सत्तामा गएर हामीले समाजवाद प्राप्त गर्न सक्दैनौ ।
अब नेपालमा समाजवाद कसरी आउने हो । हेर्न बाँकी छ र नेतृत्वलाई खवरदारीको अझै धेरै जरुरत छ । किनकी जनयुद्धमा भएका बलिदानहरु खेर नजाउन । हार्दिक श्रद्धान्जली क. अनिल अधिकारी (प्रदुन) ।

