धादिङबेसीमा लाग्यो, गो ब्याक इन्डियाको नारा

Avatar photo
Dhadingpost
बैशाख ३१, २०७७

धादिङबेसी बैशाख ३१ । धादिङबेसी सदरमुकाममा भारतले नेपाली भुमि मिचेको विरुद्ध गो ब्याक इन्डियाको नारा लगाउँदै विरोध प्रर्दशन गरिएको छ ।

‘कालापानी-लिपुलेक-लिम्पियाधुरा हाम्रो हो,’ ‘भारतीय दादागिरी बन्द गर,’ ‘हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर युवा समुहद्वारा बुधबार धादिङबेसीमा भारत विरुद्ध प्रदर्शन गरिएको हो ।

राजन लम्साल, नन्द काप्री लगायतको नेतृत्व रहेको र्याली धादिङबेसी पुछारबजार प्रहरी बीट नजिकैबाट सुरुभई बीचबजार पुगेर सम्पन्न भएको थियो ।

गत वर्षको नोभेम्बरमा नेपाली भूमिलाई आफ्नो भागमा पार्ने गरी भारतले नयाँ नक्सा जारी गरेपछि शुरू भएको विवाद साम्य नहुँदै, वैशाख २६ गते लिपुलेक क्षेत्रमा बाटो उद्घाटन गरेपछि विवाद झनै पेचिलो बनेको छ ।

नेपालको कालापानी–लिपुलेक क्षेत्रमा भारतले बाटो बनाएको घटनाप्रति सरकारले असहमति जनाउँदै भारतलाई विरोधपत्र जारी गरि सकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर सरकारको धारणा सार्वजनिक गरेको छ, भने सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त विज्ञप्ति जारी गरेर नेपाली भूमि अतिक्रमणको विरोध जनाएका छन् ।
यस्तै राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा बोल्दै नेकपा सांसद बिडारीले संकटका बेला छिमेकी (भारत)को जहिले पनि हेपाहा प्रवृत्ति देखिएको भन्दै सीमामा तारजाली लगाउन माग गरेका हुन् ।

भारतले नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरालगायत अतिक्रमण गरेको प्रसंगमा बिडारीले भने– अहिले नेपाली जनता एकजुट भएको बेला छ, जे जति पैसा नेपाली जनतासँग लिनुपर्ने हो त्यो कुरा घोषणा गरेर यही आर्थिक वर्षदेखि नै सीमामा तारजाली लाएर रातिराति करेन्ट छाड्ने, दिउँसो करेन्ट निकाल्ने गर्नुपर्छ ।

x