
धादिङ बैशाख ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तरगत चरौंदी बजारमा राष्ट्रवादी युवा समुहले भारत विरुद्ध प्रदर्शन गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दोहन गरेको छ ।
‘कालापानी-लिपुलेक-लिम्पियाधुरा हाम्रो हो,’ ‘भारतीय दादागिरी बन्द गर,’ ‘हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर समुहले मंगलबार चरौंदीमा विरोध प्रदर्शन गर्दै मोदीको पुत्ला दोहन गरेका हो ।
गत वर्षको नोभेम्बरमा नेपाली भूमिलाई आफ्नो भागमा पार्ने गरी भारतले नयाँ नक्सा जारी गरेपछि शुरू भएको विवाद साम्य नहुँदै, वैशाख २६ गते लिपुलेक क्षेत्रमा बाटो उद्घाटन गरेपछि विवाद झनै पेचिलो बनेको छ ।

नेपालको कालापानी–लिपुलेक क्षेत्रमा भारतले बाटो बनाएको घटनाप्रति सरकारले असहमति जनाउँदै भारतलाई विरोधपत्र जारी गरि सकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर सरकारको धारणा सार्वजनिक गरेको छ, भने सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त विज्ञप्ति जारी गरेर नेपाली भूमि अतिक्रमणको विरोध जनाएका छन् । (तस्वीरः दिपेश कडेल)

यो सँगै देशभार सँगै विश्वभर छरिएर रहेका नेपालीहरुले भारतले नेपाली सिमाना मिचेको विरोधमा प्रदर्शन गरि रहेका छन् भने, धादिङबेसीमा बुधबार दिउँसो प्रदर्शन गरिने बताईएको छ ।


