धादिङको बेनीघाट रोराङमा करेन्ट लागेर, एक १६ वर्षिय किशोरीको मृत्यु

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७७

धादिङ बैशाख ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० मा करेन्ट लागेर १६ वर्षिय एक चेपाङ युवतीको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० स्थित जयपुरीमा मंगलबार मकै गोड्ने क्रममा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा, १६ वर्षिय विपना चेपाङको मृत्यु भएको वडा अध्यक्ष अम्बर बहादुर गुरुङले धादिङपोष्टलाई बताए ।

एक सात अघि आएको हावा हुरीका कारण विद्युत पोल ढलेको स्थानीयहरुले विद्युत प्राधिकरणलाई जानकारी गराएका थिए । उक्त पोल सिधा बनाउन वा विद्युत सेवा बन्द दुबै काम प्राधिकरणले नगर्दा उक्त घटना भएको स्थानीयहरुले बताएका छन् ।

बिहान शिरडाडाबाट जयपुरीमा मकै गोड्न आएकी विपना चेपाङलाई करेन्ट लागेपछि स्थानीयहरुले उपचारका लागि गजुरी अस्पताल ल्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय धादिङका ध्रुव भण्डारीले विद्युत प्राधिकणको कमजोरीका कारण घटना हुन पुगेको स्वीकार गर्दै दु:ख व्यक्त गरेका छन् । पोल लर्किएको खवर स्थानीयले जानकारी गराएका हुन्, सोमबार बनाउन जाने तयारी थियो तर पानी परेकोले बनाउन जान सकेनौ, मंगलबार बिहानै उक्त घटना घटेको प्रमुख भण्डारीले बताए ।

विद्युत प्राधिकरणको कमजोरीका कारण भएको उक्त घटनाका पीडितलाई कागजी प्रक्रिया पुरा गराई ५ लाख क्षेतिपुर्ति प्रदान गरिने समेत उनले बताए ।

x