
धादिङ बैशाख २८ । धादिङको गंगाजमुना गाउँपालिका ६ लापुडाँडाका ९० घरलाई जोखिममा पार्दै वडा अध्यक्षले सडक खन्न सुरुगरे सँगै लापुडाँडाबासीहरु सिडियोको ध्यानाकर्षण गराउन जिल्ला सदरमुकाम धादिङबेसी आएछन् ।
गोरखा आरुघाट २ बाट गंगाजमुना ६ सम्म कागतेपाखा मान्बु सडक भनेर डाँडाकठेरीबाट बसेरी सम्म खन्न सुरुभए सँगै लापुडाँडाका ९० घरधुरी पहिरोको जोखिममा परेको भन्दै स्थानीयहरु प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आएको हुन् ।
यस अघि पौष २२ गते पनि उनीहरुले उक्त स्थानबाट सडक नखन्न र खन्नै परेमा डोजर प्रयोग नगर्न जिल्ला प्रशासन, गाउँपालिका र वडामा निवेदन दिएका थिए तर कतैबाट सुनुवाई नभई सडक निमार्ण सुरु भए सँगै पुन: दास्रो ध्यानाकर्षण पत्र बोकेर जिल्ला प्रशासन आएका हुन् ।
सडक निमार्ण गर्दा गोरखा पट्टीको मान्बु र धादिङ पट्टीको दुबै उपभोक्ता समितिका अध्यक्षहरु सँग छलफल गरौं, बस्तीलाई जोखिममा नपार्ने गरि सडक निमार्ण गरौ. भन्दा सुनुवाई नभएको उनीहरुले प्रमुख जिल्ला अधिकारी आसमान तामाङ् सँग गुनासो गरेका छन् ।
छलफल नगरी सडक निमार्ण नगर्न स्थानीयले दवाव दिएपछि सय जना भन्दा बढी मानिसहरुलाई घरेलु हतियार लिएर गाउँले माथि आक्रमण गर्न उपभोक्ता समिति अध्यक्ष्यहरुले उक्साएको उनीहरुले आरोप लगाएका छन् ।
गोरखा मान्बुको सडक निमार्ण उपभोक्ता समितिले धादिङपटी आएर सडक निर्माण गर्न सुरुगरेका छन् । बस्ती जोखिममा नपारी सडक निमार्ण गर्ने विकल्प हुँदा हुँदै पनि सडक निर्माण सुरु गरिएकोले तत्काल रोक्न र छलफलको बतावरण बनाई ९० घर जोखिममा नपारी सडक खनिनु पर्ने माग सहित जिल्ला प्रशासन आएको बसेरीका सरोज न्यौपानेले धादिङपोष्टलाई बताए ।
गंगाजमुना ६ का वडा अध्यक्ष भक्तबहादुर लामिछाने पनि आफ्नो घरको आँगनबाटै सडक जाने भएपछि ९० घर जोखिममा पर्दा पनि स्थानीयको पक्षमा नदेखिएको उनीहरुको आरोप छ ।
आईतबार बिहानै देखिको झरी र लकडाउनको कुनै प्रवाह नगरि जिल्ला सदरमुकाम स्थित जिल्ला प्रशासन आएका उनीहरुले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई गोरखा र धादिङको दुबै वडा अध्यक्ष र दुबै उपभोक्त समितिका अध्यक्षहरुलाई उपस्थित गराई छलफल गरि ९० घर जोखिममा नपर्ने गरि सडक निमार्ण गर्न माग गरेका छन् ।
स्थानीयहरु सँगै जिल्ला प्रशासन पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश सचिवलय सदस्य रामबहादुर भण्डारी र नेपाली काँग्रेसका पूर्व सभापति रामनाथ अधिकारीले समेत तत्काल स्थलगत अध्यन गरि ९० घर जोखिममा नपर्ने गरि सडक बनाउनु पर्ने अटेर गरे कानुनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी तामाङ सँग आग्रह गरेका थिए ।
स्थानीयहरुको गुनासोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले तत्काल सडक निमार्णको काम रोक्न र दुबै पक्षलाई छलफलमा बोलाई समस्या समाधानका लागि जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।




