
सहिद कृष्ण प्रसाद सिखंडा (गोविन्द) को जिवनीः
“इतिहासमा त्यस्ता मान्छेहरु अमर रहन्छन्, जो देश र जनताको मुक्तिका खातिर वलिदानी गर्न तत्पर हुन्छन् ।”
दुनियाँमा यस्ता मानिसहरु जन्मन्छन् जो आफ्नो निर्णयले दुनियाँ, संसार बदल्ने सोच सहित अगाडि बढेका हुन्छन् त कोहि दुनियाँको निर्णयको पर्खाइमा सितलता पिरहेका छन् । यही दुनियाँ बदल्ने सोच सहित मुलुकको शान्ति, समृद्धि र समानताको लागि सिङ्गो जिवन समर्पण गर्नु हुने आन्दोलनका आदर्श आदरणिय महान शहीदहरु, वेपत्ताहरु तथा घाइतेहरु प्रतिउच्च सम्मान व्यक्त गर्दछु ।
यसै क्रममा तात्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले वि.सं.२०५२ साल फाल्गुण १ गते बन्दुक उठाउँदै सामन्त, शोषक, दलालहरुको हैकम अन्त्य गर्न जनताका सुनौलो सपनाहरुलाई निस्तेज गर्ने, नेपाली समाजलाई वर्षौ देखि आफ्नै चङ्गुलमा राखी पेवा ठान्ने दरबारीया तानाशाही व्यवस्थाको अन्त्य गर्दै शोषण उत्पीडनको ओझेलमा रुमलिएको बस्तीहरुलाई हसाँउदै सुनौलो दिनहरुको निर्माण गर्नै उद्धेश्य सहित महान् जनयुद्धको शंखघोष गरेको थियो । विभिन्न परिस्थितिमा फरक फरक परिचय बनाएको जनयुद्धले ग्रामिण भेगमा तिव्र गतिलिदै गर्दा देशभर यसको प्रभाव बढ्दै थियो ।
जनयुद्धको हर आवाजहरु सुनौलो संगिनको रुपमा आम जनमानसमा गइरहेको अवस्थामा लाखौं मानिसहरु यो आन्दोलनमा लामबद्ध एवं सरिक हुदै गइरहेका थिए । समाज परिवर्तन गर्ने सपना आखाँमा राख्नु भएका कृष्णप्रसाद सिंखडा (गोविन्द) क. प्रभाकरको स्वभाव पनि यस्तै मिल्दा जुल्दो थियो । उहाँका आवाजहरुले जनयुद्धको उद्धेश्यहरुमा धादिङको उत्तरी क्षेत्रमा थप टेवा पुर्याइ रहेको थियो ।
कृष्णप्रसाद सिंखडा (गोविन्द) को जन्म बुवा भिमप्रसाद सिंखडा र आमा प्रेमकुमारी सिंखडाको कोखबाट वि.सं.२०२७-०१-१५ गते धादिङ जिल्लाको साविक गुम्दी गा.वि.स. वडा नं ७ तथा हालको गङ्गा जमुना गाउँपालिका ४ साल्दुममा भएको थियो । सानै देखि निडर, साहशी, स्वाभीमानी स्वभाविलो उहाँ निम्न पारिवारिक स्थितिको बावजुत पनि निकै दुःख कष्टका साथ प्राथमिक शिक्षा तामाङ्खर्क माध्यामिक विद्यालय गुम्दीबाट हासिल गर्नु भएको थियो ।
निम्न माध्यमिक शिक्षा अध्ययनका क्रममा सानै देखि प्रगतिशिल, परिवर्तनगामी छवि भएका व्यक्तिको रुपमा परिचित उहाँले विद्यालयमा शैक्षिक सुधार, आर्थिक पारदर्शिताको लागि निरन्तर सघंर्ष गर्नु भएको थियो भने उहाँले काभ्रेको धुलिखेल शिक्षा कार्यालयबाट प्राइभेट एस.एल.सी उतीर्ण गरी त्यस पश्चात उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको सरस्वती वहुमुखी क्याम्पसमा भर्नाभइ अध्ययनलाई अघि बढाउने काशिस गर्दै गर्दा उक्त अध्ययन पुरा नहुँदै घरको व्यवाहरिक परिस्थतिका कारण बाध्यतावस उहाँ गाउँ फर्किनु पर्ने हुनाले समाजसेवा गर्ने उद्धेश्य लिएर गाउँ फर्कनु भयो ।
गाउँ फर्किसके पछि समाजमा रहेका विपन्न वर्गहरु जो शिक्षा हासिल गर्नबाट वञ्चित थिए, त्यस्ता वर्गलाई शैक्षिक चेतना जगाउँदै समुन्नत समाज निर्माण गर्ने उद्धेश्यका साथ शिक्षण सेवामा प्रवेश गर्नु भयो । वि.सं.२०५३-०७-१४ देखि प्राथमिक शिक्षक पदमा नियुक्तिलिई साल्मेटार प्राथमिक विद्यालय गुम्दी-७ साल्दुममा सेवाप्रदान गर्न सुरु गर्नु भयो । निकै इमान्दार, सहनशिल, कर्तव्यनिष्ट, क्षमतावान शिक्षकको रुपमा प्रमाणित गर्दै उक्त पेशाबाटै उहाँ विद्यार्थी, शिक्षक तथा जनसमुदाय बीच लोकप्रिय बन्नुभयो ।
वि.सं.२०५८-०१-१५ मा साल्मेटार प्राथमिक विद्यालयबाट पचंकन्या प्राथमिक विद्यालय फलाङ्गे गुम्दी-८ मा सरुवा भइ, सो विद्यालयको सहायक शिक्षकको रुपमा अध्यापन गर्दै आउनु भयो । वि.सं.२०६० माघबाट उक्त पंच कन्या प्राथमिक विद्यालयको प्रधानाध्यापक पदको जिम्मेवारी वहनगर्दै उक्त पंच कन्या प्राथमिक विद्यालयलाई धादिङ उत्तरी क्षेत्रको प्रा.वि. तहमा सरकारी एवं स्थानिय लगानी सहयोगको अनुपातमा भौतिक सुधारको पक्षमा र शैक्षिक प्रगतीमा समेत नमुना प्राथमिक विद्यालयको रुपमा देखाउन सफल हुनु भएको थियो ।
देश र जनता सदैव खुशी रहनु पर्दछ, भन्ने भावना सहित निरन्तर अन्यायको विपक्षमा उभिनुहुने उहाँ समाजमा सबैको प्रियहुनु हुन्थ्यो । समाज विकासको आधार बाटो घाटो लगायतको निर्माणमा भएका अनियमितताको विरुद्धमा सशक्त रुपमा लाग्नु हुने गोविन्दका आवाजहरुले गाउँघरका फटाहा एवं प्रतिकृयावादीहरुको भाग दौड चलेको थियो ।
उहाँ माथि उल्लेखित लगायत रेडक्रस, स्थानिय सामुदायिक वन उपभोक्ता समिति, सरकारी लगायत दर्जनौं संघ संस्थाहरुमा क्रियाशिल रही कुशलता पुर्वक आफ्नो नेतृत्वदायी जिम्मेवारी वहन गर्नु भएकोले उहाँलाई सदैव अन्यायमा परेका वर्ग–समुदायले न्यायको लागि सम्झने गर्दथे ।
गोविन्दका जनमुखी क्रियाकलापबाट डराएका समाजका जनविरोधी कार्यसैलीका फटाहाहरुले गोविन्दको क्रियाकलापबाट असहज भएको महसुस गरेका थिए । वर्तमान परिवेशमा गोविन्दको अभाव महशुस गरेको यो समाजको लागि उक्त समयमा उहाँको उपस्थिति साच्चै गर्विलो हुने गर्दथ्यो ।
सामाजिक परिवर्तन संगै गर्विलो उद्धेश्यका साथ अन्याय र अत्याचारको विरुद्धमा बन्दुक उठाएको माओवादी पार्टीको जनवर्गिय संगठन अखिल नेपाल शिक्षक गठन धादिङको ऐतिहासिक प्रथम सम्मेलन (२०६१ मार्ग) बाट जिल्लाकार्य समितिको कोषाध्यक्ष पदमा चयन भइ कुशलता पुर्वक आफ्नो जिम्मेवारी बहन गर्नु भएको थियो ।
पुरानो राज्य सत्ताको ज्यादती र दमनको विरुद्धमा उहाँले गर्नु भएको बिद्रोह वैचारिक रुपमा थेग्न नसकेका तानाशाहीहरु एवं फटाहाहरुको संयोजनमा वि.सं.२०५९ भाद्र २ गते गोविन्दलाई विद्यालयमा पढाइरहेको अवस्थामा तात्कालिन शाही सेनाद्धारा गिरफ्तार गरी कठोर यातना पछि करिब ८ महिनाको कठिन हिरासत बसाई पछि सर्वोच्चको रिहा गर्ने आदेश बमोजिम वि.सं.२०५९ चैत्रमा तारेखमा रिहा हुनु भयो । रिहाई पछि पुनः उहाँ समाजमा उही रुपमा प्रस्तुत हुनु भयो ।
समाजका झैझगडाहरु एवं अन्तरविरोधहरु आदिलाई हल गर्दै मानवले मानव बीच गर्नुपर्ने हरेक व्यवहारहरु निस्वार्थ रुपमा गर्नुहुने गोविन्दलाई समाजले तात्कालिन अवस्थामा पुरस्कृत गरेको थियो ।
सामाजिक क्षेत्रमा निकै लोकप्रिय बन्दै जानुभएका उहाँ आस्था, निष्ठा र प्रतिवद्धता सहित समाज हाँसेको, हाँसेर मानिसहरु बाँचेको हेर्न र सुन्दर सपनाहरुको हरियालीमा तानशाहहरु, प्रतिक्रियावादीहरुको रजाई अन्त्य गर्न सशक्त रुपमा आवाज उठाउनु भएका उहाँलाई, उहाँको कृयाकलाप संग आत्तिएका समाजका फटाहाहरु, तात्कालिन दरबारको पालन पोषणमा संरक्षित तत्वहरुले गोविन्दको उदय र कृयाकलापबाट असहज अवस्था भएको महशुस गरी गोविन्दलाई सिध्याउनु पर्छ भनेर दैनिक प्रहरीक्याम्प र व्यारेक धाउने गर्दथे । तिनै भ्रष्ट, दलालहरुको सुराकीमा साम्राज्यवादी एवं विस्तारवादीको आडमा नेपाली आमाको होनहार छोराछोरीहरु करिब १४ हजारको हारहारीमा हत्या भयो ।

तात्कालीन शासक ज्ञानेन्द्रका रक्षक शाही सेना संयुक्त फोर्सद्धारा उहाँलाई विद्यालय जान लाग्दा वि.सं.२०६२ बैशाख २७ गते विहान ९ः३० बजे गिरफ्तार गरी बीच बाटोमा सेनाको कम्व्याट् ड्रेस पहिराई निर्मम यातना दिँदैं हात भाच्नुको साथै शरीरमा थुप्रै निलडाम र चोट लगाई मरणासन्न अवस्थामा पुर्याएका जल्लादहरुले वि.सं.२०६२ बैशाख २८ गते विहान करिब ५ः०० बजे साविक फुलखर्क गा.वि.स.को मनटारी (हाल गंगा जमुना गाउँपालिका वडा नं. ५ मनटारी) भन्ने ठाउँको सल्लाघारी चौरमा शिक्षक कै ड्रेसमा ३ राउण्ड गोली हानी विभत्स हत्या गरी उहाँको जीवन समाप्त गरेका थिए ।
आत्म समर्पण भन्दा मृत्यु स्वीकार्य छ, भन्ने विचार बोक्नु भएका उहाँलाई जनताले खोजतलास गरेर हेर्दा उहाँको मृत शरीरमा गोलीका पर्राहरुका छिद्रणहरु, हातको चोर औंला ठडिएको र औंलाको संकेतले हत्याराहरु एवं ताना शाहीहरुलाई खबरदारी लगाइएको देखिन्थ्यो । एक अथक निष्ठावान योद्धाको वलिदानीको खबर समाज र जनताले स्वीकार गर्न नसक्ने अवस्थामा पनि स्वीकार गर्न बाध्य बनाइयो ।
“तानाशाहहरुले फुलफुल्ने कोपिलाहरु टिप्न सक्छन्, तर फुलफुल्ने समयलाई कदापी रोक्न सक्दैनन्” भनेझैं गोविन्द जस्ता हजारौ योद्धाहरुको विभत्स हत्या गरी रमाउने सपना देखेका अदुरदर्शी ज्ञानेन्द्र र नीजका तात्कालीन जल्लाद सिपाहीहरुले दरबार छाड्नु प¥यो । वर्तमान परिवेशमा सुनौलो सपना बोकेर अमुल्य जीवन आहुती दिनुहुने महान् शहीदहरुले देखाउनु भएको सुन्दर भविष्यको बाटोमा अग्रसर भइ नेतृत्व गर्नेहरु छन् त…..?
यहि संवेदनशिल प्रश्न गर्दै कमरेड गोविन्द सिंखडा लगायत महान जनयुद्ध एवं जनआन्दोलनका महान शहीदहरुले देखाउनु भएको बाटोको अनुशरण गर्न सम्पृ्र्ण न्यायप्रेमी जनसमुदायएवं संवधित पक्षमा हार्दिक अनुरोध गर्दछु । सम्पृ्र्ण महान शहीदहरुमा हार्दिक श्रद्धा सुमन एवं लाल सलाम ।
यो पनि पढौं ।

