नेपालद्वारा भारतले लिपुलेकमा सडक बनाएकोमा आपत्ति

Avatar photo
Dhadingpost
बैशाख २७, २०७७

काठमाडौं बैशाख २७ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले हस्ताक्षर बिनाको विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा कूनै पनि गतिविधि नगर्न भारत सरकारलाई सचेत गराएको हो ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताएको छ। ‘नेपालले पहिल्यैदेखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने ‘लिंकरोड’को क्षेत्र नेपाली भूभाग हो,’ जारी विज्ञप्तिमा भनिएको छ। सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ।

‘विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत नेपाल सरकारले यसलाई दोहोर्याएको थियो,’ विज्ञप्तिमा भनिएको छ। परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ ।

सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकोे कदमले नेपाललाई दुःखित तुल्याएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अहिले जुन कदम चालियो, त्यसले हामीलाई दुःखी तुल्याएको छ । यसबारे सरकारको आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

नेपालकोे भूभागलाई भारतीय नक्सामा पारिएकोमा नेपालले आपत्ति जनाइरहेकै बेला लिपुलेकमा यसरी सडक उदघाटन हुँदा यसले दुःखित तुल्याएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

‘पहिलेदेखि नै नेपालले भन्दै आएका र नेपालको भूमि भनेर प्रमाणित हुने महाकाली पूर्वका भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नक्शा प्रकाशित गरिसकेपछि हामीले त्यति नै बेला गम्भीर आपत्ति जनाएका हौं’ मन्त्री ज्ञवालीले भने, ‘कूटनीतिक माध्यमबाट समाधान खोज्नका लागि हामीले पटक-पटक पहल गर्दै आएका हौं ।’

महाकालीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेलगत्तै नेपाललाई आपत्ति जनाएर कूटनीतिक माध्यमबाट समस्याको समाधानको पहल गरिरहेको मन्त्री ज्ञवालीले स्मरण गरे ।

परराष्ट्रको विज्ञप्ति-

x