धादिङबेसीमा रक्तदान गरी, रेडक्रस दिवस मनाईयो

Avatar photo
Dhadingpost
बैशाख २६, २०७७

धादिङ बैशाख २६ । धादिङबेसीमा विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान हवको रुपमा पहिचान बनाउँदै गरेको धादिङ जिल्लामा यो लकडाउनका कारण केहि समय देखि रक्तदानका सार्वजनिक कार्यक्रमहरु रोकिएका थिए । नेपाल रेडक्रस सोसाईटी धादिङले शुक्रबार सदरमुकमामा दिवस मनाउँदै, रक्तादान कार्यक्रमसम्पन्न गरेको हो ।

प्रथम नोवेल पुरस्कार प्राप्त रेडक्रस जन्मदाता जाँ हेनरी डियुनाको १९२ औं जन्म दिवस तथा विश्व रेडक्रस दिवस २०२० को अबसरमा जिल्ला अस्पताल प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा १४ जना महिला र ३७ जना पुरुष गरि ५१ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

यस्तै विश्व रेडक्रस दिवसकै अवसरमा जिल्ला अस्पताल धादिङका बिरामीहरुहरुलाई फलफूल समेत वितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिना, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधि र रेडक्रसकर्मी तथा स्वयमसेवी रक्तदाताहरुको उपस्थितिमा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

कोरोना भाईरसले गर्दा नेपाल भरिनै रगतको अभाव भएको हुँदा सबै स्वयमसेवी रक्तदाताहरुलाई नियमित रक्तदान गरि रगतको समस्या समाधान गर्न जागरुकता ल्याउन रक्तदानलाई निरन्तरता दिईएको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठ बताउँछन् ।

रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । साधारणतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४ सय ७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई कुनैपनि हानी नगर्ने श्रेष्ठ बताउँ छन् ।

श्रेष्ठ भन्छन् , एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको १ सय २० दिन भित्र उक्त रगत स्वतः नष्ट हुन्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो–छिटो रगतको उत्पादन हुने गर्दछ । त्यसैले स्वस्थ ब्यक्तिले हरेक ३र३ महिनामा रक्तदान गर्ने गर्नु पर्दछ ।