
उद्धव चेपाङ
धादिङ बैशाख २६ । धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकामा २१ हजा ४ सय ५७ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको छ ।
गत बैशाख १७ गतेदेखि संचालन गरिएको खोप अभियानमा धादिङका यी दुई गाउँपालिकामा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाएको हो ।
गजुरी गाउँपालिकाका ५ महिना देखी २४ महिना सम्मको ९ सय ८३ जना र २५ महिना देखी १५ बर्ष सम्मका ९ हजार ९३ गरी १० हजार ७६ जनालाई खोप लगाईएको छ ।
गाउँपालिका भित्र ८ हजार ९ सय ७९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा नजिकका गाउँपालिकाबाट आए बालबालिकाले पनि खोप लगाएकोले लक्ष्य भन्दा बढी बालबालिकालाई खोप दिइएको गजुरी गाउापालिका स्वास्थ्य शाखा संयोजक डाक्टर रामहरी रेग्मीले बताए ।
त्यस्तै बेनीघाट रोराङ गाउँपालिकामा ६ महिनादेखि २४ महिनासम्मका एक हजार दुई सय ५१ जना र २५ महिनादेखि १५ वर्षसम्मका १० हजार एक सय ३० जना गरी ११ हजार ३ सय ८१ जना बालबालिकालाई खोप दिइएको छ ।
६ महिनादेखि १५ वर्षसम्मका ११ हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको भएपनि लक्ष्य भन्दा बढी खोप लगाउन सफल भएको बेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक शंकरबाुबु दुवाडीले बताउँछन् ।
दादुरा रुबेला खोप लगाउनुका साथै ५ बर्ष मुनिका बालबालिकाहरुलाइ भिटामिन ए र सबै बालबालिकालाइ जुकाको औषधी पनि खुवाइएको थियो ।
गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनीघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भएको थियो ।
बेनीघाट रोराङ गाउँपालिका वडा नं ६ को वुङपुङ, रोतेसबाट फैलिएको दादुरा वडा नम्वर ४ को रुदीङ र गजुरी गाउँपालिका वडा नम्वर २ को चम्मपराङ र छेपाङसम्म फैलिएको थियो ।
दादुरा रुबेला खोप अभियानमा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, गाउँपालिका तथा वडाका जनप्रतिनिध, महिला स्वास्थ्य स्वयंसेविका, पोषण स्वयंसेवक, गाउँपालिकामा कार्यरतभ् संस्थाका प्रतिनिधिहरुहरु खटिएका थिए ।
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग भएकाले गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको हो ।

