गजुरीद्वारा अमेरिकन फौजि किराबाट जोगिने उपाए सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख २५, २०७७

धादिङ बैशाख २५ । धादिङको गजुरी गाउँपालिकाले सूचना जारी गर्दै मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाएहरु सार्वजनिक गरेको छ ।

गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अर्यालले सूचना जारी गर्दै किसानका हितका लागि मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाहरु सार्वजनिक गरेका हुन् ।

सूचना मार्फत ९ वटा बुँदाहरु समावेस गरि सार्वजनिक गरिएको उक्त सूचनामा ८ वटा बुँदाहरु मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाहरु समावेश गरिएको छ ।

घोगा राम्रो सँग खोष्ठाले छोपिने (रामपुर कम्पोजित, अरुण-२) जातको मकै लगाउने, वर्षे मकै ढिला नगरी समयमै लगाउने, मकै रोप्दा अन्य मिश्रित बालि समेत सँगै लगाउन सूचना मार्फत प्रशासकिय अधिकृत अर्यालले आग्रह गरेका छन् ।

मकैबालिको छेउछाउ कीरालाई मन पर्ने नेपिएर जातको घाँस पासोको रुपमा लगाउन सकिने, काठमो धुलो वा खरानी मकैको गुवोमा राद्यन सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।

यस्तै गाई भैसीको मुत्रमा तितेपाती, नीम १ देखि २ हप्ता पकाई एक भाग जोलमा १० भाग पानी मिसाई छर्ने, मकैको पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल अवस्थाको क्षेतिको लक्षण देखा परेमा नीम जन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम् ५ मिलिलिटर पानीमा मिसाएर छर्नु पर्ने समेत सूचनामा बताईएको छ ।

के हो फौजी किरा ?

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूह अन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो ।

यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् ।

यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्‍याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।

यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर पुर्‍याउने गरेको छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।

खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ ।

फौजी किराको प्रकोप कसरी थाहा पाउने
फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ ।

गजुरी गाउँपालिकाले जारी गरेको सूचना जस्ताको तस्तैः

x