
धादिङ बैशाख २५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ११ हजार ३९८ जना ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुवेला खोप लगाईएको छ ।
बेनीघाट रोराङले ११ हजार १५४ जना बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ बैशाख १७ गतेबाट ९७ खोप केन्द्र बनाएर दादुरा रुवेला खोप अभियान संचालन गरेको थियो ।
लक्ष्य भन्दा बढी बालबालिकाहरु खोप अभियानमा सहभागी भएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताए ।
स्वास्थ्य कार्यालय धादिङले दिएको तथ्याङक अनुसार दादुरा संक्रमण फैलिएको सात जिल्ला मध्ये धादिङमा सबै भन्दा बढी ४७ जनामा प्रकोप फैलिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत खोप सुपरभाईजर निरीक्षक श्याम प्रसाद पोखरेलले बताए ।
१३ वटा स्थानीय तहहरुमध्ये धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई यो रोग देखा परी महांमारीको रुपमा फैलिएको थियो ।
दादुरा कै कारण बेनीघाट रोराङ गाउँपालिकामा २ जना शिशुको मृत्यु भैसकेको छ । दादुरा संक्रमणबाट मृत्यु हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका मानिसहरु रहेका थिए ।
लकडाउनको अवधिमा बेनीघाट रोराङ गाउँपालिका ६ मा दादुरा(रुवेलाले १५० जना बालबालिका बिरामी परे भने दुई जनाको मृत्यु भएको थियो ।
बेनीघाट रोराङको ९७ खोप केन्द्र मध्य वडा नं १ मा ८१३ जना, वडा नं २ मा १७९४ जना, वडा नं ३ मा १३२२ जना, वडा नं ४ मा ८१६ जना, वडा नं ५ मा १०८० जना, वडा नं ६ मा ८९४ जना, वडा नं ७ मा ८९४ जना, वडा नं ८ मा ८८७ जना, वडा नं ९ मा १३५२ जना र वडा नं १० मा १५४६ जलालाई खोप लगाईएको सूचना अधिकारी घिमिरेले धादिङपोष्टलाई जानकारी दिए ।
दादुरा रोग सङ्क्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यू गर्दा र खोक्दा किटाणु हावामा फैलिएर यो रोग सर्दछ ।
बालबालिकाहरू समूहमा जम्मा हुने वा भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्ने भएकाले भीड–भाडमा नजान स्वास्थ्य कार्यालय धादिङले आग्रह समेत गरेको छ ।

