तरकारी बालीमा रोग लाग्दा थाँक्रेका किसान चिन्तित

Avatar photo
Dhadingpost
बैशाख २४, २०७७

धादिङ बैशाख २४ । किसानहरु तरकारी खेतिमा व्यावसायिक बन्दै जाँदा समस्याहरु पनि थपिदै गएकाछन् । कहिँ हरियो तरकारी बेच्न नपाएको, कहिँ तरकारीको लागत मूल्य समेत नपाएको, कहिँ तरकारी बालीमा रोग लागेको, कहिँ मल वीउ समयमै नपाएका र विचौलियाहरुबाट हेपिएको जस्ता समस्या दिनहु जसो आइरहेको हुन्छ ।

अहिले लकडाउनका कारण उपभोक्ताले आवश्यकता अनुसार तरकारी खान कठिन छ भने किसानले फलाएको जति तरकारी बेच्न सकिरहेका छैनन् । तर थाक्रे गाँउपालिका वडा नं. ११ वालुवाफाँट र आसपासका क्षेत्रमा लगाइएको करेला टिप्न नपाउने अवस्थामा पुगेको छ । करेला बालीमा रोग देखिएपछि लगानी फिर्ता नहुने अवस्थामा आँउदा किसानहरु चिन्तित भएकाछन् ।

यहाँका ७२ परिवार किसानले २०६ रोपनी जग्गामा लगाएको करेलाबाली पहेलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि एक हप्तादेखि किसानहरु चिन्तित भएका हुन ।

किसानहरुले आफ्नो तर्फबाट गर्न सक्ने र एग्रोभेटले भित्र्याएका कडा विषादीहरु समेत प्रयोग गर्दा रोकथाम नभएपछि गाँउपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिहरुलाई समेत तरकारी बाली लगाएकै स्थानमा बोलाएर देखाइसकेका छन् । बालीमा कस्तो रोग हो भनेर पत्ता लगाउन बाली रोग प्रयोगशाला हरिहर भवन पठाएको आग्रामहेश संयुक्त कृषि फर्मका सञ्चालक केशव रुपाखेतीले बताए ।

स्थानीय छ जना यूवा किसानहरुले सञ्चालन गरेको आग्रामहेश संयुक्त कृषि फर्ममा यस वर्ष २६ रोपनी जग्गामा करेला खेती गरेका छन् । गत वर्ष ३४ हजार केजी करेला वेचेर १८ लाख आम्दानी गरेकोले यूवाहरु अझ हौसियर यस वर्ष मेहनत गरेका थिए । वार्षिक ती लाखमा जग्गा भाडामा लिएको र्फमले एक लाख लगानी गरेर करेला लगाएको फर्मका अध्यक्ष वतराज विडारीले बताए । हरेक वर्ष थाक्रा फेरिरहनु पर्ने अवस्थाबाट मुक्त हुन फलामको स्थायी पोलमा दुई लाख पचास हजार खर्चेको छ ।

फर्मलाई संघीय सरकारको तरकारी ब्लक कार्यक्रम र बागमति प्रदेश सरकारको नमूना फर्म कायक्रमको सहयोग रहेको कृषि ज्ञान केन्द्रका अधिकृत कमलराज शर्माले बताए । फर्ममा मात्र नभई अन्य किसानहरुले लगाएको करेला बालीमा समेत पात पहेलो हुने, पाउडरी मिण्डु, मिना टोड छ भने यस वर्ष पानी पनि धेरै परेकाले जमिन आवश्यकता भन्दा बढी चिसो रहेको शर्माले बताए ।

दुई रोपनी जग्गामा करेला खेती गरेर बर्खे खर्च चलाउने शुरमा रहेका वलराम सुवेदीले ३० हजार खर्च गरिसकेका थिए । तर एकाएक करेला बालीमा रोग देखिएपछि उनी खर्च गर्ने पैसा कमाउनु भन्दा पनि खर्च भएको पैसा कसरी फिर्ता गर्ने चिन्तामा छन् । उनीले दुई रोपनी जग्गाबाट दुई लाख आम्दानी गरेर वर्खाको खर्च टार्ने योजना थियो ।

अर्का तीन रोपनी जग्गामा तरकारी लगाएका बलराम अर्याल पनि लगानी फिर्ता नहुने र अर्को वर्ष कसरी लगानी जुटाएर तरकारी खेती गर्ने चिन्तामा छन् । सरकारले सहयोग गर्दिए हुन्थ्यो भन्ने आशय उनको छ ।

थाक्रे गाँउपालिकाले वडा नं। ११ मा १० ग्राम दरको १५८ पाकेट पाली जातको करेलाको वीउ वितरण गरेको गाँउपालिकाकी कृषि प्राविधिक राममाया रानामगरले बताई । समस्या आएपछि गएर हेरिएको छ ।

सवै करेलाबाली कोक्नास छ । संगै ल्याएको वीउ हो अन्यत्र ठाँउबाट बाली नोक्सान भएको खवर नआएको रानामगरले बताइन । इष्ट वेष्ट इन्टरनेशनलको पाली जातको करेला लगाएका किसानहरुकोे यस वर्ष करिव २१ लाख लगानी डुवेको छ । किसानहरुको गुनासो आएपछि प्रतिनिधि सभा सदस्य भुमी प्रसाद त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमखु जगन्नाथ नेपाल, गाँउपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती, फियान नेपालका सचिव गोकर्ण रुपाखेतीले स्थलगत अनुगमन गरेका छन् । खाद्य अधिकारको क्षेत्रका वकालत गर्दै आएको फिपान नेपालले किसानहरुसंग अन्तरक्रिया गरेको छ ।

किसानहरुले करिव करेलाबाली सफल रुपमा फसल लिन पाएका भए एक करोड ४४ लाख आम्दानी लिने हिसाव सुनाएका थिए । यति वेला किसान बाली नष्ट गरेर अर्को तरकारी लगाउन समय वितेकाले क्षति पूर्ति पाउनु पर्ने माग राखेका छन् ।

यदि वीउका कारणले हो भने विउ उत्पादक तथा विक्रेताले र अन्य कारण भए सरकारले क्षतिपूर्ति नदिए उत्पादक किसानहरुनै भोकभोकै बस्नु पर्ने अवस्था र्सिजना भएको छ । राजेन्द्र बस्नेतले कारोबार दैनिकमा खवर लेखेका छन् ।

x