महेश बस्नेत सहित ३ जना विरुद्ध अपहरणको उजुरी दर्ता

Avatar photo
Dhadingpost
बैशाख २२, २०७७

काठमाडौं बैशाख २२ । सांसद डा. सुरेन्द्र यादव अपहरण गरेको आरोपमा सांसद महेश बस्नेत, नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनाल र कृष्णकुमार श्रेष्ठ (किसान) विरुद्ध अपहरणको उजुरी दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार महेश बस्नेत सहित ३ जना विरुद्ध अपहरणको उजुरी दर्ता भएको हो ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउने सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए ।

एक सात अघि महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर वकिलको कार्यालयले समेत उजुरी दर्ता नगरे पछि नेताहरु फर्किएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि पुगे मानव अधिकार आयोग उजुरी दर्ता गराए

पूर्वराज्यमन्त्री एवं सांसद डा। सुरेन्द्र यादव अपहरणको आरोप लागेका नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोग उजुरी दिएका छन् ।

आफूहरूले सांसद यादवको अपहरण नगरेको भन्दै उनीहरूले आयोगमा उजुरी दिएका हुन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरूले आफूहरू निर्दोष रहेको भन्दै उजुरी दर्ता गराएका थिए ।

यसअघि १८ वैशाखमा यादवले सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनालले आफूलाई अपहरण गरेको भन्दै आयोगमा उजुरी दिएका थिए । यादवको उजुरीको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआइजिपीले अर्को निवेदन दिएका हुन् ।

महोत्तरीस्थित घरमै रहेका यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले १० वैशाखमा काठमाडौं ल्याएका थिए । यो विषय ठूलो राजनीतिक मुद्दा बनिसकेको छ । विपक्षी दलले समेत छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।

x