गजुरीको मुनाल एकेडेमीले, बैशाख २७ बाट विद्यार्थी भर्ना गर्ने

Avatar photo
Dhadingpost
बैशाख २०, २०७७

धादिङ बैशाख २० । धादिङको गजुरी गाउँपालिका गजुरीमा रहेको मुनाल एकेडेमीले बैशाख २७ गते देखि लगातार पाँच दिन सम्म वार्षिक परिक्षाको नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्ने भएको छ ।

वागमती प्रदेशले स्थानीय तह संग समन्वय गर्दै वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न आग्रह गरे सँगै, मुनाल एकेडेमीले २७ गते देखि ५ दिन सम्म परिक्षाको नतिजा सहित विद्यार्थी भर्ना गर्ने भएको हो ।

प्याब्सन धादिङका प्रमुख सल्लाहाकार एवम् मुनालका प्रिन्सिपल रमेश श्रेष्ठले २७ गते नर्सरी, २८ गते एलकेजी, २९ गते युकेजी, ३० गते कक्षा ५-६ र ३१ गते को कक्षा ७-९ सम्मको परिक्षाफल प्रकाशित सँगै नयाँ भर्ना गरिन लागेको धादिङपोष्टलाई बताए ।

कोरोना भाईरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण विद्यालयहरुले नतिजा प्रकाशन तथा नयाँ भर्ना प्रक्रिया अगाडी बढाउन सकि रहेका थिएनन् ।

धादिङबेसीमा रहेका निजी विद्यालयहरु चिल्ड्रेनपार्क, न्यु किबो, एड्भान्स एकेडेमी र धादिङबोर्डिङले अनलाईनमा नतिजा प्रकाशित गरे पनि भर्नाको कार्यक्रम सार्वजनिक भने गरेका छैनन् ।

केहि दिन अघि मात्र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सुझाव प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।