
धादिङ बैशाख १८ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले दिर्घ रोगीलाई नि:शुल्क औषधी वितरण गर्ने भएको हो ।
कोरोना भाईरस संक्रमणको रोकथाम तथा उपचारको लागि सरकारले गरेको लकडाउनका कारण अफ्यारोमा रहेका दिर्घ रोगीलाई एक महिनाको लागि नेत्रावती डब्जोङ गाउँपालिकाले नि:शुल्क औषधी वितरण गर्ने भएको हो ।
गरिव विपन्न तथा गरिव मजदुर परिवारलाई पहिलो चरणको खाद्यान्न सामाग्री वितरण भैसकेको छ, अब एक महिनाको लागि पुग्ने औषधी नि:शुल्क रुपमा वितरण गर्ने तयारी गरेको आउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यले बताएका हुन् ।
लकडाउनका कारण यातायात नचल्ने र सदरमुकाम सम्म गएपनि सदरमुकममा पनि औषधी अभाव देखिएकोले गाउँपालिकाले नै जिल्ला बाहिरबाट खरिद गरि दिर्घरोगीहरुलाई प्रदान गर्ने तयारी गरिएको समेत अध्यक्ष शाक्यले बताए ।
यस अघि कोरोना भाईरसका संक्रमण देखिएका नेत्रावती डब्जोङ गाउँपालिकाका उरबहादुर तामाङ कोरोना भाईरसको संक्रमणबाट मुक्त भई धादिङ फर्किएका थिए । अहिले उनी धादिङबेसी स्थित क्वारन्टाईमा छन् । क्वारन्टाईनमा रहँदा लाग्ने सम्पूर्ण खर्च नेत्रावती डब्जोङ गाउँपालिकाले व्यहोर्ने स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले जानकारी दिए ।
कोरोना भाईरसको संक्रमण देखिएपछि २९ दिन टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराई पूर्ण निको भएर फर्किएका तामाङ नेत्रावती डब्जोङ स्थित सेमजोङका हुन् ।

