
काठमाडौं बैशाख १८ । सशस्त्र प्रहरीको कुटाइबाट ७० वर्षीय वृद्धसहित तीन जना घाईते भएका छन् । उनीहरुको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ ।
नवलपरासीको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा ५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा सशस्त्र प्रहरीको कुटाइबाट एक बृद्धा र २ किशोर घाईते भएका हुन् ।
घाइते हुनेहरुमा भगतपुरवाँ निवासी ७० वर्षीय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ वर्षीय अक्लेश गौड र १६ वर्षीय मुन्ना गौड रहेका छन् ।
सशस्त्र प्रहरीले भने मोटरसाइकलमा रक्सी बोकेर भारत लैजान खोज्दा रोकेपछि गाउँनै आएर आफ्नो जवान र पोष्टमाथि आक्रमण गर्न खोज्दा रक्षाका लागि लाठीचार्ज गरेको जनाएको छ भने पिडितहरुले भने तस्करहरु सशस्त्र प्रहरीको सेटिङ्गमा ७–८ वटा सुंगुर नेपाल भित्राइरहेको देखेपछि घटना बाहिर आउला भनेर हामीलाई कुटपिट गरेको आरोप लगाएका छन् ।
