
धादिङ बैशाख १३ । कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका धादिङ गंगाजमुना गाउँपालिका १ का मेमबहादुर तामाङको शव भेटिएको छ ।
उक्त हिमपहिरोमा परी बेपत्ता भएका मध्ये एक नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको थियो । अन्य बेपत्ताहरुको खोजी कार्यका लागि पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले तामाङको सव शुक्रबार फेला फारेको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार सेनाको हेलिकोप्टरबाट गएको सेनाको उद्धार टोलिले धादिङका मेमबहादुर तामाङको शव फेला पारेको हो । शब र सँगै भेटिएको तीनवटा झोला प्रहरीलाई बुझाईएको सेनाले जनाएको छ ।
सो शव पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरे पश्चात शुक्रबार नै अन्त्यष्टि गरिएको टानका अध्यक्ष खुम सुवेदीले धादिङपोष्टलाई बताए ।
उक्त स्थानमा हराइरहेका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा हिँउभित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले उद्धारको लागि गएको सेना फर्किएको छ ।

