
धादिङ बैशाख १२ । उत्तरी धादिङको लापा ठुलो गाउँलाई सडक सञ्जालले जोड्ने योजना अनुरुप सुरुभएको सडक विस्तार कार्य सँगै गाडी लापा पुगेको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न विकास निमार्ण देखि सबै विकासका काम ठप्प भए पनि रुविभ्यालीको लापा ठुलो गाउँ जोड्ने सडक विस्तारको काम भने जारी रहेको छ ।
सडक निमार्ण कार्य जारी भए सँगै शुक्रबार साविको लापा वडा नं. ४ मा गाडी पुगेको लापाबाट सुकलामा तामाङ धादिङपोष्टलाई बताए ।
बोरोङको बतासे डाँडा सम्म सडक निमार्णको काम यसअघि नै भएको थियो । अहिले बतासे डाँडाबाट लापा ठुलो गाउँ सम्म जोड्ने गरी रुबीभ्याली गाउँपालिकाको ५० लाख र प्रदेशको ४० लाख गरि ९० लाखको काम जारी रहेको समेत तामाङले बताए ।
सदरमुकाम धादिङवेशी देखि साङ्गकोष तिप्लिङ सडकको निर्माण कार्यको सुरुवात २०५० सालमा नै सुरु भए भएपनि लापामा गाडी पुग्न भने लगभग २६ वर्ष लाग्यो ।
धादिङवेशी साङ्गकोष तिप्लिङ सडकखण्डलाइ उत्तरी धादिङका क्रान्तिकारी नेता दामन पाख्रिनको स्मृतीमा नामाकरण गरि निमार्णकार्य सुरुभए पछि भने सडक विस्तारले गति लिएको स्थानीयहरु बताउँछन् ।
तात्कालिन जनयुद्धको बेला माओवादीको आधार क्षेत्र, सैन्य तालिम केन्द्र र बैचारिक तथा राजनैतिक प्रशिक्षण केन्द्रको रुपमा चिनिएको लापा राजनितिले उथपुथल हुदै कोल्टो फेरेपनि लापाको विकासले कोल्टो फेर्न सकेको थिएन ।
रुवीभ्यालीमा एकीकृत पर्यटन विकास कार्यक्रम लागु गर्ने गरि प्रदेश र संघीय सांसदहरुले जोड दिए सँगै सडक विस्तारले पनि प्राथमिकता पाएकोले लापा सम्म गाडी पुग्ने वातावरण बनेको स्थानीयहरु बताउँछन् ।
