
ज्वालामुखिमा खाद्यान्न वितरण गर्ने निर्णय भएको छैन-वडा अध्यक्ष
धादिङ बैशाख १२ । धादिङको लापाबाट भुकम्प कारण विस्तापित भाई ज्वालामुखि गाउँपालिकाको ढोलामा बस्दै आएका नमुना वस्तीमा खाद्यान्न संकट भएको छ ।
ढोलामा २५ घर परिवारका करिव ७७ जना बसोबास गर्ने, उक्त वस्ती लोभलाग्दो छ । भुकम्प पछि विदेशी सहयोगमा एकै मोडलका ५५ घर बने त्यहि घरहरुमा उनीहरु बस्दै आएका छन् । घर त छ, तर खेती गर्ने जग्गा जमिन नहुँदा उनीहरुको जीवन निर्वाहको मुख्य स्रोत ज्याला मजदुरी बन्दै आयो ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले लकडाउन गरे सँगै उनीहरुको ज्याला मजदुरी रोकिए सँगै खाद्यान्नमा पनि संकट आई लाग्यो । अहिले कसैको घरमा खाद्यान्न छैन, गाउँपालिकाले पनि दिँदैन खाना खान नपाएरै मरिने भैयो सुसन तामाङ बताउँछन् ।
श्रीमान् मृत्यु पश्चात दैनिक ज्यालादारी गर्दै बाल बच्चा पाल्दै पढाउँदै आएकी कविता तामाङ भन्छिन् हामीले राहात पाएनौं लौन पहल गर्दिनुहोस् आफु नखाए पनि बाल बच्चालाई कसरी भोको राखुम् ।
हेर्दा मनै लोभ्याउने यस नमुना वस्तीमा बस्ने २५ वटै परिवारका आफ्नै पिडा भित्र लुकेको साझा पिडा बनेको छ अहिले खाद्यान्न संकट ।
भोकै मर्ने भए त, भुकम्प विस्तापित वस्तीका २५ परिवार, खद्यान्न वितरणको अवस्था के छ हाम्रो प्रश्नमा वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ भन्छन्, ज्वालामुखि गाउँपालिकाले खाद्यान्न राहात बाड्ने निर्णय नै गरेको छैन कसरी दिनु खाद्यान्न ।
वडा अध्यक्ष गुरुङ भन्छन्, उनीहरु सबै मजदुरी गरि जिवन निर्वाह गर्दै आएका परिवार हुन्, यहाँ मजदुरी गर्न रोकिएको छैन, अनि कसरी खाद्यान्न संकट हुन्छ ? एक दुई घर त्यस्तो संकटमा पनि हुन सक्छन् तर गाउँपालिकाले खाद्यान्न वितरण गर्ने नीति नै बनाएको छैन, वडाले दिन त्यो शिर्षकमा वजेट नै छैन कसरी दिने ।
उहाँहरुको घर छ, राहत पालिका बाहिरका मजदुरहरुलाई दिने हो, उहाँहरुलाई दिन सकिदैन, उहाँहरु अहिले पनि मजाले काम गरिरहनु भएको छ, खाद्य संकट भए जस्तो लाग्दैन भन्छिन् गाउँपालिका उप-प्रमुख जानुका सिंखडा । यस्तै गाउँपालिका प्रमुख विनोद तिमल्सिनाले समेत ज्वालामुखिका स्थानीयहरुलाई खाद्यान्न राहत वितरण सम्बन्धी कुनै निर्णय नभएको बताए ।

