
धादिङ बैशाख १० । विश्व सर्वहारा वर्गका नेता लेनीनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको आज ७१ औं स्थापना दिवसको अवसरमा मार्क्सवाद अध्ययन प्रतिष्ठान धादिङले प्रेस विज्ञप्ती जारी गरेको छ ।
रुसी क्रान्तिका नायक लेनीनको जन्म जयन्ती अवसरमा माक्र्सवाद अध्ययन प्रतिष्ठान धादिङले लेनिनको स्मरण गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।
विज्ञप्ती जस्ताको तस्तै: विश्व सर्वहारा वर्गका महान् नेता लेनीनको जन्म जयन्तीको अवसरमा मार्क्सवादको पहिलो व्यवहारिक प्रयोगकर्ता, रुसी क्रान्तिका नायक एवं समाजवादका पथप्रदर्शक महान् लेनीन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । वहाँको जन्म दिनमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको आज ७१ औं स्थापना दिवस, यस अवसरमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अभिवादन सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
महान लेनीनको जन्म १८७० अप्रिल २२ मा रुसमा भएको थियो । निकोलस जारले आफ्नो दाजुको हत्या गरेपछि उनमा प्रतिशोधपूर्ण धारणा जागृत भयो र राजनीतिमा सकृय रहे । चतुर र न्यायप्रेमी लेनीनले कम्युनिष्ट घोषणापत्रको गहिरो अध्ययन गरे । १८७१ मा मजदुर वर्गको नेतृत्वमा स्थापित पेरिस कम्युन ढलेपछि त्यसको विश्लेषण गरे र अन्त्यमा राजनीतिक, सांगठनिक र आवस्यक परे भौतिक हतियारले मात्र क्रान्ति सफल र दीगो हुन्छ भन्ने निष्कर्षमा पुगी रुसी मजदुर वर्गलाई प्रशिक्षित र संगठित गर्न थाले । १८८३ मा माक्र्सको निधन पछि विश्वमा साम्यवादी भूत समाप्त भयो भनेर प्रतिक्रियावादीहरु नाँची रहेका वेला रुसमा मार्क्सवादको व्यवहारिक प्रयोग गर्न उनी कटिबध्द भए ।
अन्ततः १९१७ अक्टोबर १५ मा सर्वहारा वर्गको मुक्तिको नेतृत्व गर्दै उनले रुसमा क्रान्ति पूरा गरी समाजवादको स्थापना गर्न सफल भए । यसले विश्वभरका कम्यिुनिष्टहरुमा आशाको नयाँ संचार गरायो ।
यही अभिप्रेरणाबाट १९४९ अप्रिल २२ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जन गोविन्द बैध, नारायण विलाश जोशी, नरवहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठको सहभागितामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । आज त्यहि कम्युनिष्ट पार्टी जनताद्वारा निर्बाचित भै सरकारको नेतृत्व गरीरहेको छ । जनताको सहयोग र भावनाको उच्च सम्मान गर्दै अविचलित समाजवाद स्थापनाको महान् दिशामा पार्टी अझ एकतावद्ध, संगठित र योजनावद्ध रुपले अघि बढी रहोस् , ७१ औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
राधिका सापकोटा
महासचिव

