
धादिङ चैत्र ३० । विश्व नै अहिले कोरोनाको संक्रमण रोक्न हर उपायहरु अवलम्बन गरि रहेको छ । विश्व स्वस्थ्य संगठनले निर्देश गरेका सिद्धान्तहरु अपनाउन विश्वभरका नागरिकहरुलाई सरकारले आव्हान गरि सकेको छ ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषदले बैठकले समेत विश्ब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गर्यो ।
बैठकले नेपालीको परम्परा देखि चलिआएको चलन एवम् हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को नीति अवलम्बन गर्न जनसमुदायमा आव्हान गर्ने निर्णय पनि गरेको थियो ।
यहि अनुसार धादिङका प्राय सबै स्थानीय तहहरुले ‘नो ह्याण्डसेक’ लाई प्राथमिकताका साथ राखे । सिद्धलेक गाउँपालिकाले जनचेतना मुलक सन्देश प्रवाह गरि नागरिका घर-घर पत्र नै पठायो । तर गाउँपालिका अध्यक्षले भने हात मिलाउन छाडेनन् ।
साना किसान कृषि सहकारी संस्था लि. सलाङको टिम लकडाउनको मारमा परेका मजदुर र विपन्न परिवारका लागि सहयोग गर्न १ लाखको चेक लिएर गाउँपालिका पुग्यो ।
मुखमा गुणस्तर युक्त माक्स लगायर गाउँपालिकामा बसेका प्रमुख सिलवालले चेक बुझे र हात समेत मिलाएको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल बन्न थालेको छ ।
कोरोनाको संक्रमण रोक्न सुचना प्रवाह गर्ने गाउँपालिकाका प्रमुख नै ‘नो ह्याण्डसेक’ को मर्मलाई लत्याउँदा नागरिक तहमा कुन सन्देश जाला ।


