
कुनै पनि विपद् र महामारीको पूर्वतयारी गर्नु नै जनउत्तरदायी सरकारको प्रमुख कर्तव्य हो। तर, सरुवा तथा महामारीजन्य रोगको रोकथाम र उपचार व्यवस्था गर्ने पूर्वतयारीमा सरकारको सतर्कता खासै देखिंदैन। गएको वर्ष डेङ्गीका कारण हजारौं बिरामी भए, कतिले ज्यान गुमाए । यसपाली डेङ्गी शुरु भइसक्दा पनि यसका लागि कुनै तयारी नै छैन ।
स्वास्थ्यकर्मीको लागि संक्रमणबाट जोगिन अत्यावश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अहिले खुब चर्चा छ । यो सरुवा रोगको उपचारमा काम गर्ने स्वास्थ्यकर्मीलाई सधैं चाहिन्छ । तर पीपीई हामीकहाँ कति मौज्दात राखिन्थ्यो ? यदि जनउत्तरदायी सरकार हो भने बजेटको व्यवस्था गरेर कम्तीमा एकहजार वा त्यो भन्दा बढी पीपीई सधैं मौज्दात राख्नुपर्ने हो ।
मुलुक संघीय संरचनामा गएर प्रदेश र स्थानीय सरकार बनेको पनि तीन वर्ष पुग्न लाग्यो । तर अहिलेसम्म प्रदेशमा रोग परीक्षणको अत्याधुनिक प्रयोगशाला बनाइएन । काठमाडौंको जस्तो प्रयोगशाला बनाउनुपर्यो भनेर प्रदेश सरकारहरु पहिले नै लागेको भए कोभिड–१९ को नमूना परीक्षण गर्न स्वाब दौडादौड गरेर काठमाडौं ल्याउनुपथ्र्यो र अहिले ?
राज्यको कार्यशैली नै रोग लाग्नै नदिने भन्दा रोग लाग्छ र उपचार गर्ने व्यवस्था गर्नुपर्छ भन्ने किसिमको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकहरुमा गर्नुपर्ने भनेको पूर्वतयारी नै हो । सरकारले अहिले कोभिड–१९ को लागि गरिरहेको पूर्वतयारी ठीकै छ, तयारी गर्ने समय भएर पनि हो ।
झाडापखाला, डेङ्गी जस्ता जनस्वास्थ्यका समस्यालाई सरकारले कुनै समस्या नै मानेको छैन। तर, यी रोगकै कारण बर्सेनि विभिन्न ठाउँमा मानिसहरूको मृत्यु हुने गरेको छ । चिकित्सा विज्ञानले यति धेरै फड्को मारेको आजको समयमा झाडापखालाले मान्छे मर्नु भनेको त देशकै बेइज्जत हो । तर नियन्त्रणका लागि तयारी नै हुँदैन ।
रोगबाट जोगिन र फैलिन नदिन अपनाउनुपर्ने पूर्वतयारीमा नागरिकको भूमिका पनि महत्वपूर्ण हुन्छ। सबै जना सचेत भयौं भने सुरक्षित हुन्छौं । साभारः हिमालखवरबाट

