
काठमाडौं चैत्र २३ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न मानिसहरु घर घरमा छन् । घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ ।
मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् । बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवालेचारा खान पाएका छैनन् ।
कतिपयले आफ्नैघरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेको छ । होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति र स्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकले घरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् ।
आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् । काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् । पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी र प्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् ।
कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्नुहुन्छ ।प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीकोसृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्णप्राणी जगत्को साझा घर पृथ्वी हो । पृथ्वीमा जति मानिसको जिउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ भने ।
त्यसैले मानिसले लकडाउनमा आफ्नोर आफ्ना परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उनले आग्रह गरे । अरू मानिस घरभित्रै बसिरहँदा उनी आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँडेका छन् । आजको गोरखापत्र दैनिकले खबर प्रकाशित गरेको छ ।

